१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एउटा खरबुजाको यस्तो कमाल, ८० करोड मूल्य !



मायादेवी अनलाइन ।
एक पटक हिसाव गर्नुस् त, एउटा खरबुजाका लागि कति मूल्य चुकाउनु पर्ला ? उता अमेरिकामा चाहीँ एउटा पसलेले एउटा खरबुजाका लागि ८० करोड रुपैयाँ मूल्य चुकाएका छन् ।
अमेरिकाको अलाबामास्थित शपिङ स्टोर वालमार्टका लागि एउटा खरबुजाको मूल्य ८० करोड परेको हो ।
घटनाको सुरुवात २ वर्षअघि भएको थियो । सन् २०१५ मा भएको उक्त घटनाका विषयमा अमेरिकी प्रान्त अलबामाको एक अदालतले हालै फैसला सुनाएको छ ।
अदालतको फैसला अनुसार अब वालमार्टले खरबुजाका कारण घाइते भएका ग्राहक हेनरी वाकरलाई ७५ लाख डलर अर्थात् झण्डै ८५ करोड रुपैयाँ तिर्नुपर्नेछ ।
वास्तवमा भएको चाहीँ यस्तो थियो, सेवानिवृत्त सैनिक समेत रहेका वाकर किनमेल गर्न वालमार्टमा पुगेका थिए । वालमार्टमा उनले खरबुजा पनि किन्ने सोच बनाए र त्यहाँ रहेको एउटा खरबुजा हातमा लिएर एक कदम अघि बढ्ने के कोसिस गरेका थिए सामान राखिएको दराजबाट बाहिर निस्किएको काठको चुच्चोमा उनको खुट्टा अड्कियो र उनी भुइँमा बजारिए ।
सामान भरिएर्को याक पनि उनीमाथि बज्रियो जसका कारण उनको हिपको हड्डी भाँचियो । लामो उपचारपछि उनी निको त भए तर आफुलाई सख्त घाइते बनाउने सुपर मार्केटप्रति उनको रिस मरेको थिएन ।
उनले मोटो रकम क्षतिपूर्तिको मागसहित सुपरमार्केटविरुद्ध मुद्दा हाले । उनको त्यो मुद्दामा अदालतले हालै फैसला गर्दै वाकरलाई ७५ लाख डलर जरिवाना तिर्न सुपरमार्केटका नाममा आदेश दिएको छ ।
वालमार्टले भने सानो गल्तीमा निकै ठूलो सजायँ पाएको भन्दै फैसलाविरुद्ध अपील गर्ने जनाएको छ ।
एजेन्सी

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  ३ : ४७ बजे