१० मंसिर २०७९, शनिबार | Sat Nov 26 2022

इजिप्टको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहार, २३५ जनाको मृत्यु



इजिप्ट, ९ मंसिर ।
इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा दुई सय ३५ जनाको ज्यान गएको छ । इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार आक्रमण भएको र त्यस क्रममा धेरै सर्वसाधारण नागरिकको ज्यान गएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनाइ प्रान्तको वीर अल–अबेद बजारमा रहेको अल–रावदा मस्जिदमा आक्रमण भएको हो ।
आक्रमण भएका बेला शुक्रबार हुने नियमित प्राथनाका लागि मस्जिदमा मानिस जम्मा भएका थिए । आधुनिक इजिप्टको इतिहासमा यो आक्रमण सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमण हो । सन् २०१३ मा इजिप्टसहितका क्षेत्रमा सुरु भएको इस्लामिक बिद्रोहयता भएको हो ठूलो आक्रमण हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । तर इस्लामिक स्टेट (आइएस) सम्बद्ध लडाकुले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । ४० जना भन्दा बढीको समूहमा आएका आक्रमणकारीले मस्जिदमा नमाज पढिरहेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका हुन् ।
इजिप्टको सरकारी टेलिभिजनका अनुसार घटनामा एक सय ३० जना घाइते भएका छन् । यसैबिच इजिप्टका राष्ट्रपति अब्दुल फतह अल–सिसीले सिनाईको मस्जिदमा भएको आक्रमणको बदला लिएरै छोड्ने घोषणा गर्नुभएको छ । यो आक्रमणले आफ्नो देश र नागरिकलाई आतंकवाद विरुद्धको अभियान कमजोर नभइ थप मजबुद बनाएको उहाँले बताउनुभएको छ । सुरक्षा अधिकारीसँगको कुराकानीपछि उहाँले घटनामा संलग्नलाई कुनै पनि हालतमा नछोडिने बताउनुभएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  १२ : ३७ बजे