१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ओली निवासमा एउटा बम विस्फोट, अर्को बम सेनाद्वारा सुरक्षित रुपमा डिस्पोज



झापा, मंसिर ९ ।
आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनुभएका नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधनमन्त्री केपी शर्मा ओलीको दमक–५ मा रहेको निवासमा शनिबार बिहान विस्फोट भएको छ ।
विस्फोटबाट ओली निवासको पूर्वी गेटमा क्षति भएको छ । बिहान ४ बजेतिर अचानक ठूलो आवाजकासाथ विस्फोट भएकाले झण्डै दुई किलोमिटर टाढासम्म सुनिएको थियो ।
त्यही स्थानमा राखिएको अर्काे बम भने सेनाको बम डिस्पोजल टोलीले बिहान साढे ७ बजे सुरक्षित रुपमा विष्फोट गराएको छ । ओली निवासमा दमक नगरका मेयर रोमनाथ ओलीको परिवार बस्दै आएको छ । अहिले यस क्षेत्रमा सुरक्ष सतर्कता बढाइएको छ ।
यसैगरी शुक्रबार राति १२ बजेतिर झापा–२ का कांग्रेस उम्मेदवार तथा झापा कांगे्रसका सभापति उद्धव थापाको निवास परिसरमा पनि विस्फोट भएको छ ।
विस्फोटबाट पार्किङमा राखिएको बा ७ च ६८९५ नम्बरको गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको छ । दुवै घटनामा कुनै मानवीय क्षति भने भएको छैन । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  ८ : ३६ बजे