१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या



मंसिर ९ ।
भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ ।
ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या गर्ने आदेश दिने अर्का सैनिक अधिकारीलाई भने प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।
त्यहाँको एक दैनिक पत्रिकाका एकजना वरिष्ठ समाचारदाता ४८ वर्षीय सुदिप दत्त भौमिकको हत्या गरिनुको पछाडि उनले ती सैन्य अधिकारीले गरेको भ्रष्टाचारको समाचार लेख्नु मुख्य कारण रहेको त्यस पत्रिकाका सम्पादकले भनेका छन् ।
भारतीय पत्रिका सिन्दन दैनिकका सम्पादकले सो कुरा शुक्रबार सार्वजनिक गरेका हुन् । उक्त बङ्गाली भाषाको पत्रिकाले ती सैनिक अधिकारीले सो कार्यालयमा गरेको भ्रष्टाचारसम्बन्धी समाचार छापेका थिए ।
त्यस दिन पनि उनी त्यसैसम्बन्धी थप समाचार लिनका लागि त्रिपुरास्थित त्यस कार्यालयमा पुगेका थिए । त्यसै समयमा उनको हत्या भएको हो ।
त्रिपुरा राज्यको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला कार्यालयका अर्धसैन्य बलका प्रमुख अधिकारी सैनिक कमाण्डेन्ट अफिसर तपन देव बर्माले आफ्ना अङ्गरक्षकलाई नै ती पत्रकारलाई गोली हान्ने आदेश दिएका पछि खुलेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  ८ : ३९ बजे