६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

‘समृद्धि र राजनीतिक स्थायित्व कायम गर्न वाम गठबन्धन’



तुलसीपुर, दाङ, ११ मंसिर (रासस) ।
माओवादी केन्द्रका नेता तथा बिनाविभागीय मन्त्री जनार्दन शर्माले संविधान कार्यान्वयन गर्न र नयाँ अभ्यास कायम गर्नका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाली जनताको समृद्धि र राजनीतिक स्थायित्व कायम गर्न वाम गठबन्धन गरेको बताउँदै नेता शर्माले वाम गठबन्धनबाट आत्तिएर काँग्रेसले अधिनायकवाद आउँछ भन्नु हाँस्यास्पद भएको बताउनुभयो । “वामपन्थीहरु जनताको बहुमत लिएर सरकार चलाउँछन्”, उहाँले भन्नुभयो ।

“विगतमा पनि काँग्रेसले बहुमतको सरकार चलाएको थियो, के त्यतिबेला अधिनायकवाद आएको थियो र ?” भन्दै प्रतिप्रश्नसमेत गर्नुभयो ।

पहिलो चरणको निर्वाचनमा विभिन्न अवरोधका बाबजुद शान्तिपूर्ण रुपले सम्पन्न भएको बताउँदै प्रभाकरले नेपाली काँग्रेस निकै आत्तिएको धारणा व्यक्त गर्नुभयो । “प्रधानमन्त्रीज्यूले वामपन्थीहरुको सरकार आएपछि रुन पनि पाइँदैन भन्नुभएको छ, उहाँले ठीक भन्नुभयो, हामी जनतालाई रुन नपर्ने गरी काम गर्छौं”, नेता शर्माले भन्नुभयो ।

प्रतिनिधिसभाको निर्वाचनमा रुकुममा आफूलाई मतदान गरेर दाङ झर्नुभएका शर्माले दाङलाई पश्चिम दीपायल र उत्तरमा डोल्पा हुँदै चीन जोड्ने योजना आफूसँग रहेको समेत बताउनुभयो ।

उहाँले दाङ राजधानी बनाउने कुरालाई सुनिश्चित गर्न दाङमा सबै सिट वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता रहेको समेत औँल्याउनुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  ८ : ५६ बजे