१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सामाजिक सद्भाव चुनावी नारा



दिपक अनुरागी, कपिलवस्तु, १४ मंसिर ।
मंसिर २१ गते हुन गैरहेको दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका उम्मेदवार सामाजिक सद्भावको नारा लिएर जनताका बिच पुग्न थालेका छन् । कुनै बेला हिन्दु, मुस्लिम, पहाडी, मधेशीको नाममा सामाजिक सद्भावमा पुगेको खलल मेटाउन सबै दलका उम्मेदवार लागिपरेका हुन् । जातजाती, भाषाभाषी, धर्मसंस्कृतिमा देखिएका मतभेदलाई उम्मेदवारले प्रष्ट पार्दै गाउँ हिड्न थालेपछि मतदाताहरु खुसी देखिएका छन् । देशका अधिकांश स्थानमा लोकतान्त्रिक र बामपंथी विचारधाराको राजनीति चलिरहे पनि यहाँको राजनीतिक वातावरण फरक तरिकाबाट अगाडी बढेको देखिन्छ । मधेस केन्द्रित दलबाट लामो समय देखि राजनीति गर्दै आएका ठुला नेताहरु कांग्रेस, एमालेमा प्रवेश गरेर उम्मेदवार बनेपछि अहिले उनीहरु पहाडिया समुदाय र मधेसी समुदाय रिझाउन व्यस्त छन् ।
राजपा नेपाल परित्याग गरि एकाएक स्वतन्त्र समुहबाट एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बनेका बृजेश कुमार गुप्ता, इश्वर दयाल मिश्र, धर्मबहादुर लाल श्रीवास्तव मधेसी जनतालाई सम्झाएर भोट मागिरहेका छन । एकातिर मधेस आन्दोलन पछि सघाउँदै आएका नेता सूर्य चिह्न लिएर किन चुनावमा उठे भन्ने मतदातामा अन्यौल छ भने त्यो अन्यौल चिर्न उम्मेदवारलाई पनि हम्मे हम्मे परेको छ । उता मधेस आन्दोलनको बेला पहाडिया समुदायमा परेको असरलाई चिर्न अभियाननै बनाएर घरघरमा पुगेका छन ।
जिल्लाको प्रतिनिधिसभा ३ मा कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक प्रताप शाह अहिले पहाडीया समुदायमा घरदैलो गर्न व्यस्त छन । नेता शाहलाई सम्प्रदायिक नेताको रुपमा जिल्लाबासी चिन्दै आएका थिए । नेता शाहले भाषण गर्ने अधिकांश शब्द मधेसी र पहाडीया समुदाय विचको द्धन्द्ध बढाउने खालको हुदै आएको थियो । सामाजिक सञ्जाल देखि मञ्चमा बोल्दा उनको भाषण सधै पहाडीया समुदाय र मुस्लिम प्रति आक्रमण हुँदै आएको थियो । तर नेता शाह एकाएक संघिय समाजबादी फोरम नेपाल परित्याग गरि कांग्रेस प्रवेश गरि उम्मेदवार बनेपछि हिजोका गल्ति स्विकार गर्दै मतदाताको घरदैलोमा पुगेका छन । देशलाई आर्थिक समृद्धिको दिशामा लैजान र सबै समुदाय विच सामाजिक सद्भाव बढाउन कांग्रेसलाई भोट दिई जिताउन उनले मतदाता संग आग्रह गरिरहेका छन । ‘हिजो विहान के भयो त्यो विर्सौ उनले भने, ‘अब जातीय र क्षेत्रियताको राजनीतिले मुलुकमा समृद्धि आउँदैन, त्यसैले राष्ट्रिय पार्टीमा प्रवेश गरेको हुँ ।’
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का स्वतन्त्र समुहबाट सूर्य चिह्न लिएर चुनावी मैदानमा होमिएका बृजेश कुमार गुप्ता पनि अहिले बुद्धभुमि नगरपालिकाका पहाडीया बस्तिमा पसेका छन । चुनावमा आफुलाई जिताउन आग्रह गर्दै नेता गुप्ता पहाडीया वस्तिमा पसेका हुन । उनको पनि मुख्य चुनावी एजेण्डा सामाजिक सद्भाव कै छ । केहि बर्ष यता जिल्लाको सामाजिक सद्भाव नराम्रो संग विग्रीएको हो उनले स्विकार गरे । हिजोको तिक्ततालाई बर्सिएर राष्ट्रिय एकता कायम राख्नुपर्नेमा उनले जोड दिए । ‘ सामाजिक सदभावको नारा बोकेर गाउँ पसेको छु, उनले भने । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्याय पनि मधेसका गाउँमा छन । औपचारिक रुपमा घरदैलो कार्यक्रम नगरेपनि उनि अहिले व्यक्तिगत भेटघाटलाई तिव्र पारेका छन । सोही क्षेत्रका बामपंथी गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ पनि अहिले वाणगंगाका थारु बस्तिमा छन ।
यता संघिय समाजबादी फोरम नेपालका उम्मेदवार पनि पहाडिया बस्तिमा पुग्न थालेका छन । प्रतिनिधिसभा १ का फोरम नेपालका उम्मेदवार अब्दुल रसिद खाँले चुनावी घरदैलो अभियान सबै समुदायमा पु¥याउने बताए । विगतमा चुनाव अस्वस्थ्य प्रतिस्पर्धामा चल्ने गरेको भएपनि अहिले त्यस्तो नभएको मानव अधिकरकर्मी पोमनारायण पौडेल बताउँछन । निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र उत्तर दक्षिण गरि विभाजन गरेको कारण राजनीतिक ठिक ठाउँमा आएको पौडेलको बुझाई छ । विश्व विज्ञान प्रविधिको युग भएकोले कोही कसैप्रति आक्रमक रुपमा प्रस्तुत हुँदा नकरात्मक असर पर्ने भएकोले पनि नेताहरु विगतको भन्दा फरक भएको हुन सक्ने उनले जनाए । जिल्लाका तीन प्रतिनिधिसभा र छ प्रदेशसभाका लागि राजनीतिक दल र स्वतन्त्र गरि १ सय ८० जना उम्मेदवार चुनावी मैदानमा छन ।

प्रकाशित मिति : १४ मंसिर २०७४ बिहिबार ००:००  २ : १३ बजे