७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्यूठानमा कांग्रेसको घरदैलो, वाम गठबन्धनको आमसभा



प्यूठान, १८ मंसिर । दोस्रो चणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिँदै गर्दा प्यूठानमा दलहरुले पार्टीको प्रचारलाई तिब्रता दिएका छन् । ग्रामिण क्षेत्रका मतदातालाई आकर्षित गर्न दलहरु आ–आफ्नै तरिकाले लागेका छन् ।
दोस्रो चरणमा मंसिर २१ गते हुन लागेको चुनावका लागि १ प्रतिनिधि र २ प्रदेशसभाका लागि ४ जना उम्मेदवार प्रत्यक्षतर्फ भिडिरहेका छन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका डा। गोबिन्दराज पोख्रेल चुनावी मैदानमा हुनुहुन्छ ।
प्रदेशसभाका लागि वाम गठबन्धनबाट क्षेत्र नम्बर –१ मा वाम गठबन्धनका हरी रिजालसँग नेपाली कांग्रेसका टेकप्रसाद भण्डारी चुनावी मैदानमा हुनुहुन्छ भने क्षेत्र नं। २ मा वाम गठबन्धनका कृष्णध्वज खड्का र कांग्रेसका जिल्ला पार्टी सभापति समेत रहेका अमर भण्डारी बीच प्रतिष्पर्धा हुँदैछ ।
चुनावी प्रचार – प्रसारका लागि वाम गठबन्धनले आमसभामा जोड दिएको छ भने नेपाली कांग्रेस घरदैलोमा व्यस्त छ । वाम गठबन्धनले जिल्लाका विभिन्न गाउँपालिका केन्द्र लक्षित गरी आमसभा सम्पन्न गरेका छन् ।
घरदैलो सकेर आममतदातालाई आफूतिर आकर्षित गर्न वाम गठबन्धनले आमसभालाई जोड दिएको हो । आमसभामा चुनावमा होमिएका दलका उम्मेदवारले आ–आफ्ना विकासका एजेण्डा मतदाता सामु पेश गरेका छन् ।
यता नेपाली कांग्रेस भने घरदैलोमै व्यस्त छ । जिल्लाका दुर्गमदेखि सुगम बस्तितर्फ पुगेको कांग्रेस मतदातामाझ विकासका आश्वासन र एजेण्डा बाँड्दै आफूतिर मत तान्न गाउँ केन्द्रित छ । सुगम मानिने जिल्लाको मुख्य बजारदेखि दुर्गम मानिने स्याउलीवाङ, खवाङ, लिघा, डामृ, अर्खा, रजवारा लगायत दाङवाङ र कोचिवाङसम्म कांग्रेस पसेको छ ।
यस पटकको चुनावमा उम्मेदवारले आमसभालाई भन्दा घरदैलो अभियानलाई प्राथमिकतामा राखेको कांग्रेस उम्मेदवार डा। गोबिन्दराज पोख्रेलले बताउनुभयो । डा। पोख्रेलले जिल्लाका विकट क्षेत्रमा घरदैलो गर्दा मतदाता आफू र आफ्नो पार्टीलाई जिताउन उत्साहित रहेको जनाउनुभयो । ‘उम्मेदवार दर्ता गर्दाको दिनदेखि नै हामी निरन्तर घरदैलो अभियानमा छौं’, उहाँले भन्नुभयो, ‘प्रत्येक मतदाताको घरदैलोमै उम्मेदवार आइदियोस भन्ने चाहना पाएँ ।’

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ४२ बजे