चन्द्राैटा ।
शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले कामदारले पारिश्रमिकसँगै सुरक्षा पाउनुपर्ने बताएकी छन् । कपिलवस्तुको चन्द्राैटामा बुधबार भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएकी हुन् । कामदारको मेहनत र योगदानलाई राज्य तथा सम्बन्धित रोजगारदाताले उचित मूल्यांकन गर्नुपर्ने उनले बताइन् । काम गर्ने क्रममा दुर्घटना वा जोखिममा परेका श्रमिकको संरक्षणका लागि आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले श्रमिकको अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने समेत थारुले जिकिर गरिन् । उनले श्रमिकको उचित ज्याला र सुरक्षा पहिलो प्राथमिकता राखेर सबै निकाय जिम्मेबार हुनुपर्ने उपप्रमुख थारुले औल्याइन् ।
महिलाको अधिकार र सुरक्षाका लागि नगरले आवश्यक कानुन निर्माणको प्रक्रिया अघि बढाएकाे समेत उनले बताइन् । महिलामाथि अझै पनि ज्यालामा असमानता रहेको जनाउँदै समान कामका लागि समान ज्याला सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उनकाे दावी छ ।
यसैबीच शिवराज नगरपालिका-२ का वडा अध्यक्ष रामबहादुर चौधरीले सरकारले तोकेको पारिश्रमिक रोजगारदाताले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने बताए । यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रकाे स्थानीय अधिकार कार्यक्रमका संयोजक अजय चौधरीले विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो आउने गरेको भन्दै सरकारले तोकेको पारिश्रमिक र श्रमिकका आधारभूत अधिकार कार्यान्वयन हुनुपर्ने बताए ।

अनौपचारिक क्षेत्रमा कार्यरत महिलाको श्रमको उचित मूल्यांकन, कानुनी अधिकारको कार्यान्वयन र सुरक्षित कार्यस्थलको सुनिश्चितताका लागि दबाब सिर्जना गर्ने र्याली आयोजना गरिएको केन्द्रका कार्यक्रम अधिकृत सचिव गहतराजले बताए । जिल्लाका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको कानुनी अधिकार सुनिश्चित गर्न माग गर्दै दबाबमूलक र्याली निकालिएको छ ।
श्रमिक संघकी नगर अध्यक्ष यसोधा नेपालीको नेतृत्वमा निकालिएको र्यालीमा सहभागीहरूले ‘समान कामको समान ज्याला’, ‘श्रमिकको पञ्जीकरण तथा बीमा सुनिश्चित गर’, ‘सुरक्षा सामग्री उपलब्ध गराउ’ लगायतका विभिन्न माग लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।











प्रतिक्रिया