१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बधाई तथा शुभकामना दिन सहज बन्यो ‘फेसबुक’



पाल्पा, २६ मंसिर ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएपछि पहिला, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उम्मेदवारले सामाजिक सञ्जाल ‘मुहारपुस्तक’ मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् ।
समयको बचत र स्वदेश तथा विदेशमा रहेकालाई एकैसाथ सम्बोधन हुने भएपछि पाल्पाका विजयी तथा पराजित दुबैथरीले फेसबुकबाट आफूलाई सहयोग गर्ने सबैलाई आभार तथा धन्यवाद प्रकट गरेका हुन् ।
मतदाता तथा शुभचिन्तकले विजयी उम्मेदवारलाई फेसबुकबाटै बधाई तथा शुभकामना दिने क्रम जारी छ । पराजय भोगेका उम्मेदवारले विजेतालाई सम्मानपूर्वक बधाई तथा शुभकामना व्यक्त गर्ने संस्कारको सर्वत्र सराहना गरिएको छ ।
पाल्पा निर्वाचन क्षेत्र २ प्रदेश (ख)का विजयी उम्मेदवार नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती वसन्तलाई नेपाली काँग्रेसका उम्मेदवार राम कार्कीले प्रेस विज्ञप्तिमार्फत शुभकामना दिनुभयो ।
प्रदेशसभामा विजयी भएपछि घर्तीले आम पाल्पाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, शुभचिन्तक, आफन्तजन तथा सम्पूर्ण मतदाताको सद्भाव र सहयोगबाट आफूलाई विजयी बनाउन सहयोग गर्नुभएकामा फेसबुकबाट हार्दिक आभार व्यक्त गर्नुृभयो ।
पाल्पा निर्वाचन क्षेत्र १ का नेपाली काँग्रेसका उम्मेदवार विजयराज घिमिरेले नेकपा एमालेका विजयी उम्मेदवार दलबहादुर रानालाई बधाई तथा शुभकामना दिनुभयो ।
एमालेका केन्द्रीय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित सोमप्रसाद पाण्डेयले फेसबुकमार्फत नै मतदाता, शुभचिन्तक तथा निर्वाचन सम्पन्न गराउन अहोरात्र खट्ने कर्मचारी, पत्रकार तथा पर्यवेक्षकलाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  १ : ३४ बजे