८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सिद्धबाबा क्षेत्र छल्दै वैकल्पिक सडक खोलिने



पाल्पा, २७ मंसिर
पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिकाको दोभानअन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक खोलिने भएको छ । सिद्धबाबा क्षेत्रमा पटक पटक ढुंगासहितको पहिरो खस्दा वर्षेनी मानवीय क्षति भएपछि वैकल्पिक सडक खोल्न अवस्थामा जिल्लावासी पुगेका छन् । पाल्पा–बुटबल सडकखण्डको विकल्पमा रुपन्देहीको चरङ्गे मुडावास– चौकी भञ्ज्याङ– ज्यामिरे– झुम्सा सडक यस वर्ष खोलिने भएको छ ।

पाल्पाको झुम्सादेखि चौकी भञ्ज्याङ गाडी सञ्चालनमा रहे पनि रुपन्देहीतर्फको चौकी भञ्ज्याङको मुडाबास गाडी सडक विस्तार हुन सकेको छैन । वैकल्पिक सडक विस्तारका लागि पाल्पाको तिनाउ गाउँपालिकाले रु ३० लाख, तानसेन नगरपालिकाले रु २० लाख र रिब्दिकोट गाउँपालिकाले रु १० लाख सहयोग गर्ने तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । चालु आवमा सडक विस्तारको काम पूरा हुने गरी काम अघि बढ्ने बताइएको छ ।

पाल्पाका अन्य स्थानीय तहले पनि वैकल्पिक सडक निर्माणका लागि बजेट विनियोजन गर्ने तयारी गरको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । रुपन्देही जिल्लाको देवदह नगरपालिकाले आफ्नो क्षेत्रमा काम अघि बढाउन आवश्यक सहकार्य गरिरहेको छ ।

चालु आवको अन्तिमसम्म पाल्पा बुटबलका सवारीसाधन यही मार्ग हुँदै सञ्चालनमा आउने छन् । सिद्धबाबा क्षेत्रमा पहिरो रोक्न र मानवीय क्षति कम गर्न सुरुङमार्ग अन्तिम लक्ष्य हो ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  २ : ५६ बजे