१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भारतीय कांग्रेसको अध्यक्षमा राहुल, जिम्मेवारी ग्रहण



नयाँदिल्ली, २ पुस ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राहुल गान्धीले शनिबार ग्रहण गरेका छन् ।गत १९ वर्षदेखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् ।
उनले शुक्रबार सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने भन्दै राजनीतिक अवकाशको घोषणा गरेकी थिइन् । भारतको निकै पुरानो पार्टी कांग्रेसमा उनले अबदेखि कुनै पनि कार्यकारी जिम्मेवारी नलिने स्पष्ट पारेकी छन् । ‘अब मेरो भूमिका अवकाश पाएपछिको जस्तो हुन्छ’, सोनियाले सञ्चारकर्मीलाई भनिन् । उनले छोरा राहुलले पार्टीलाई प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरेकी छन् ।
कांग्रेसको सबैभन्दा माथिल्लो पदका लागि पाँच दिन पहिले भएको निर्वाचनमा राहुलबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वा्चित भएको घोषणा गरिएको थियो । राहुलका पिता राजीव गान्धी, उनकी आमा इन्दिरा गान्धी र इन्दिरमका पिता जवाहरलाल नेहरू भारतका प्रधानमन्त्री भएका थिए । राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो । गत तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकाले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनियाको दाबी छ ।
भारतीय कांग्रेसका कार्यकर्ताहरूले राहुलले पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । उनीहरूले राहुल जिन्दावाद, राहुल गान्धी अमर रहून् लगायतका नारा लगाएका थिए । ४७ वर्षीय राहुलले अध्यक्ष भएपछि अब पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरे पनि कतिपयले भने आशंका व्यक्त गरेका छन् । यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीका तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो ।
सोनिया अध्यक्ष भएकै बेला अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले कांग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो । सोनिया गान्धी गत तीन वर्षदेखि विरामी भएपछि पटकपटक अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । इटालीमा जन्मेकी ७१ वर्षीया गान्धी सन् २०११ मा उपचारका लागि अमेरिका गएकी थिइन् । तर उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी गराइएको थिएन ।
बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जवाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  ६ : ४० बजे