१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

साँझ–बिहान जोखिमपूर्ण सवारी संचालन रोक लगाउन माग



भैरहवा, ४ पुस ।
सुरक्षित यात्रा अभियान नेपालले साँझ बिहानको समयमा सडकमा सवारीको अत्यन्त चाप हुने भएकाले जोखिमपूर्ण सवारी संचालनमा रोक लगाउन माग गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाउँदै अभियानका अध्यक्ष नारायणप्रसाद अधिकारीले बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्मको समयमा विभिन्न कार्यालयका कर्मचारी, विद्यार्थी र सेवाग्राही आवतजावत गर्ने हुँदा सडकमा सवारीको चाप बढ्ने भएकाले यो समयमा टिप्पर लगायत तीव्र गतिमा र जोखमपूर्ण रुपमा संचालनमा आउने सवारी संचालनमा रोक लगाउन माग गरेका हुन् ।
ज्ञापन पत्रमा बिहान–बेलुकाको समयमा बुटवल–बेलहिया र देवदह–सालझण्डीको सडकमा जोखिमपूर्ण सवारी संचालनमा रोक लगाई आम नागरिकको बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरिएको छ । ज्ञापन पत्रमा अघि भनिएको छ– ‘दिनानुदिन हुने अधिकांश दुर्घटनाहरु बिहान–बेलुकाको समयमा भएको छ, त्यस्ता दुर्घटनामा टिप्पर लगायत भारबहान ठूला सवारीको कमजोरी देखिन्छ । यसैले त्यस्ता सवारीलाई सडक व्यस्त हुने समयमा रोक्न जरुरी छ ।’
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले आफूहरुले सरोकारवाला निकायहरुसँगको समन्वयमा समस्या समाधानमा पहल गर्ने बताए । उनले पछिल्लो समय दुर्घटना बढेको प्रति आफूहरु पनि चिन्तित रहेको जनाउँदै सुरक्षित यात्रा अभियानसँग साझेदारी गरी दुर्घटना न्यूनीकरणमा पहल गर्ने बताए ।
सुरक्षित यात्रा अभियान नेपाल यस क्षेत्रको दुर्घटना न्यूनीकरण गर्न सक्रिय रही यात्रुहरुको सुरक्षित यात्राको लागि अभियान संचालन गर्दै आएको गैरसरकारी संस्था हो । संस्थाले विशेष गरी सडक दुर्घटनामा कसैको ज्यान नजाओस् भनी सडक सुरक्षा सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । संस्थाले दुर्घटनाको समयमा तीव्र उद्धार, सिघ्र उपचार भन्ने नाराका साथ रुपन्देहीको देवदह नगरपालिका खैरेनीमा आकस्मिक उद्धारबहान (एम्बुलेन्स) संचालनको तयारी गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  २ : ४८ बजे