२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

रूसी विपक्षी नेताद्धारा नागरिकलाई चुनाव बहिष्कार गर्न आह्वान



एजेन्सी, काठमाडौं, १२ पुस ।
आसन्न राष्ट्रपतीय निर्वाचनमा आफू उठ्न नपाउने भएपछि रूसका विपक्षी नेता एलेक्से नभाल्नी आक्रोशित बनेका छन्। उनले मतदातालाई चुनाव बहिष्कार गर्न समेत आह्वान गरेका छन्।
आफूबिनाको चुनावको कुनै वैधानिकता नहुने भन्दै उनले चुनावमा विरोध जनाउन मतदातालाई आह्वान गरेका हुन्। उनलाई फौजदारी अभियोगमा दोषी ठहर्याइएकोले रुसको निर्वाचन आयोगले राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य ठहर गरेको थियो।
नभाल्नीलाई राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिनसक्ने हैसियतको एकमात्र नेताका रुपमा हेरिएको थियो। नभाल्नीले भने आफूविरुद्धको अभियोग राजनीतिक रुपमा अभिप्रेरित भएको बताएका छन्।
एएफपीलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार ४१ वर्षीय नभाल्नीले उक्त ठहरविरूद्ध रुसको संवैधानिक अदालतमा पुनरावेदन दिने र त्यसको कडा विरोध गर्ने बताइरहेका छन्।
विश्वकै शक्तिशाली राष्ट्रपतिको रूपमा चर्चित रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यो पटक पनि चौथो कार्यकालका लागि चुनावमा उठ्न लागेका छन्।

प्रकाशित मिति : १२ पुस २०७४ बुधबार ००:००  ३ : ०६ बजे