१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

गुरुङ समुदायले आज तमु ल्होसार मनाँदै



काठमाडौं, १५ पुस ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी शनिबारदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

तमु सँस्कृति अनुसार आज खुशीसाथ सामूहिक भोज, साँस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइने उहाँले बताउनुभयो । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाउने गरेका विश्वास छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

यो पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । यसैबिच ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनुभएको छ ।

 

 

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  ३ : ४४ बजे