१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज देखि चन्द्रौटा महोत्सव शुरु



सीताराम चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको चन्द्रौटामा यही माघ १७ देखि २८ गतेसम्म संचालन हुन लागेको “चौथो चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव २०७४” को तयारी लगभग पूरा भएको छ ।
“कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान” भन्ने मूल नारासहित चन्द्रौटा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । मंगलबार पत्रकार सम्मेलन गरी आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक कमिटी संयोजक जमशेर अलीले महोत्सवको ९९ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएका छन् । महोत्सव उद्घाटनको पूर्व नै महोत्सवको सम्पूर्ण तयारी पूरा भइसक्ने गरी काम अघि बढाइएको उनले बताए ।
२६० स्टल रहेको महोत्सव विगतको भन्दा फरक बनाउने कोशिष गरिएको संयोजक अलि मियाले जानकारी गराएका छन् । उनका अनुसार यस पटकको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रहरुलाई उजागार गर्न ‘बुद्ध परिपथ’ निर्माण गरिएको छ । जसमा ऐतिहासिक परिचयसहित मायादेवीको मूर्ति, गौतम बुद्धको मूर्ति, शिवगढी मन्दिर, सोनवागढ मन्दिर र जिल्लाकै सबैभन्दा पुरानो मदरसाको परिचय सहित अवलोकन तथा अध्ययन अध्यापनको व्यवस्था रहेको छ ।
यसैगरी यस पटकको महोत्सवमा सम्पूर्ण व्यापारी व्यवसायको बीमाको व्यवस्था गरिने महोत्सव मूल आयोजक समिति संयोजक अलि मियाले उद्घोष गरे । महोत्सवको आकर्षणको रुपमा नेपालमा नपाइने ऊँटको प्रदर्शनी, सबैभन्दा ठूलो पंक्षी ओस्ट्रिज अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । यस पटकको महोत्सवमा नगरपालिकाभित्रका ५८ वटा विद्यालयका बालबालिकाहरुलाई महोत्सव अवलोकन भ्रमणका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले सार्वजनिक गरे । मेला महोत्सवमा भरपर्दो सुरक्षा व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ । महोत्सवलाई सचिवालयमा बसेर निगरानी बढाउन १६ वटा सिसी टिभी जडान गरिएको छ । जसमा राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्सको प्राविधिक सहयोग रहेको बताइएको छ । यसका साथै सेक्युरिटी, सशस्त्र र नेपाल प्रहरीद्वारा सुरक्षा व्यवस्था मिलाइएको छ ।
महोत्सवमा कृषि, प्रविधि, विभिन्न वस्तुहरुको विक्री वितरणका स्टलहरु रहेका छन् । महोत्सवमा यस क्षेत्रमा बसोबास गर्ने हरेक जातजातिहरुको खानाको परिकारका साथै बालउद्यानका झण्डै डेढ दर्जन नयाँ नयाँ मनोरन्जनका साधन व्यवस्था मिलाइएको छ । दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्नका लागि राष्ट्रिय तथा स्थानीय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति, चन्द्रौटा डान्स आइडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवबाट एक लाख दर्शकद्वारा महोत्सव अवलोकन गर्ने र ८ देखि १० करोडसम्मको कारोबार हुने आयोजकको दाबी छ । महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष चण्डीराज ढकालद्वारा गरिने मूल आयोजक समिति संयोजक जमशेर अलि मियाले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७४ बुधबार ००:००  २ : १५ बजे