काठमाण्डाै ।
वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो । मेहनत गरे फल कसो प्राप्त नहोला त भनेर शुरू गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ । उहाँले दूध बेचेर मासिक एक लाख रुपैयाँभन्दा धेरै आम्दानी गरिरहनुभएकाे छ ।
१३ वर्ष साउदी अरबमा गाडी चालकका रूपमा काम गरेर फर्किनुभएका क्षेत्रीले विसं २०७३ देखि ‘गोमा गाईभैँसी फार्म’ सञ्चालन गर्दै आउनुभएको छ । साउदीमा बिरामी भएपछि स्वदेश फर्किनुभएका उहाँले अन्य रोजगारीको विकल्प नदेखेपछि तीनवटा गाईभैँसीबाट पशुपालन शुरू गर्नुभएको थियो ।
अहिले १४ वटा गाईभैँसी रहेका उहाँको फार्मबाट दैनिक दुई हजार ७०० रुपैयाँ बराबरको ९० लिटर दूध बिक्री हुने गरेको छ । पशुको दाना, औषधि, व्यवस्थापनलगायत खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा धेरै बचत हुने गरेको उहाँको भनाइ छ । क्षेत्रीले मोही, पनिर र घिउसमेत उत्पादन गरी बिक्री गर्नुहुन्छ ।
अहिले व्यवसायमा घाटा छैन । मेहनत गर्नुपर्छ, त्यसअनुसार आम्दानी पनि हुन्छ, क्षेत्रीले भन्नुभयो, पहिला पैसा र व्यक्तिगत खर्चका लागि अरूको भर पर्नुपर्थ्याे । अहिले आफ्नै व्यवसायबाट घरखर्च चलाउनुका साथै बचत गर्न सकेको छु ।
पशुपालनकै आम्दानीबाट उहाँले तीन छोराछोरीलाई विदेश पठाउँदा लागेको ऋणसमेत तिर्नुभएको छ । व्यवसाय विस्तारका क्रममा झन्डै ६० लाख रुपैयाँसम्म ऋण लागेको भए पनि पशुपालनबाट भएको आम्दानीले ऋण व्यवस्थापन गर्न सहज भएको उहाँले बताउनुभयो ।
फार्ममा तोपबहादुर र श्रीमती गोमा स्वरोजगार बन्नुका साथै एक जनालाई रोजगारी दिनुभएको छ । कोरोना महामारीका समयमा बजारमा दूध लैजान नपाउँदा उत्पादन खेर गएर घाटा व्यहोर्नुपरेको उहाँले स्मरण गर्नुभयो ।
शुरुआती अवस्थामा पशुपालनसम्बन्धी ज्ञान र व्यावसायिक योजना नभएका कारण विभिन्न समस्या झेल्नुभएका क्षेत्रीले पछिल्लो पटक गण्डकी प्रदेश सरकार र दायित्व संस्थामार्फत जलजला गाउँपालिकामा सञ्चालन भएको वृद्धिमुखी उद्यमशीलता विकास परियोजनाबाट प्राविधिक ज्ञान, सीप र अनुदान प्राप्त गर्नुभएको छ ।
तालिम तथा व्यावसायिक ज्ञान हासिल गरेपछि फार्मको व्यवस्थापनमा सुधार आएको उहाँले बताउनुभयो । छिमेकी र आफन्तले समेत व्यवसायप्रति विश्वास नगरेको अवस्थामा निरन्तर मेहनत र अनुभवबाट फार्मलाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उहाँको भनाइ छ ।
पहिला धेरैले यो व्यवसाय चल्दैन भन्थे । आफूलाई पनि पशुपालनको ज्ञान थिएन, उहाँले भन्नुभयो, तर विस्तारै सिक्दै, अभिलेख राख्दै र बजार बुझ्दै गएपछि व्यवसायप्रति विश्वास बढ्यो ।
फर्से, लस्तीका किसानले उत्पादन गर्ने दूध स्थानीय सङ्गम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले सङ्कलन गरेर बागलुङमा बजारीकरणको व्यवस्था मिलाएको छ । ४० किसानबाट दैनिक ६०० देखि ८०० लिटर दूध खरिद गरी बागलुङ पुर्याएर बिक्री गर्ने व्यवस्था मिलाएको संस्थाका सचिव खड्ग केसीले बताउनुभयो । गाउँपालिकाले प्राविधिक सहयोग र प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारी संस्थामार्फत प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरेको छ ।
फार्ममा गाईभैँसीको सङ्ख्या बढाएर ३० वटा पुर्याउने खत्रीको योजना छ । उत्पादन बढाउनुका साथै दूधजन्य परिकारको उत्पादन र बजारीकरणलाई विस्तार गर्ने उहाँले बताउनुभयो । पशुपालन व्यवसायमा दक्ष कामदारको अभाव भने मुख्य चुनौतीका रूपमा रहेको क्षेत्रीको भनाइ छ । नियमित हेरचाह, दानापानी र सरसफाइमा निरन्तर श्रम आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति नपाउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो ।
विदेशमा वर्षाैँ बिताएर स्वदेश फर्किएका क्षेत्रीका लागि अहिले गाईभैँसी फार्म वैकल्पिक रोजगारीमात्रै नभई परिवारको आर्थिक अवस्था परिवर्तन गर्ने आधार बनेको छ । तीन वटा गाईभैँसीबाट शुरू भएको व्यवसायले अहिले नियमित आम्दानीको स्रोत बनाउँदै परिवारको आर्थिक हैसियतसमेत बदलिएको उहाँ बताउनुहुन्छ ।









प्रतिक्रिया