४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

अमृते सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारणसभा सप्पन्न



भलवाड ।

“समृद्धिका लागि वन” भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका–९ मा रहेको अमृते सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारणसभा भर्तापुरमा सम्पन्न भएको छ।सभामा समूहका सचीव मिना सिंजापतिले समुहको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्ष सीता शर्मा न्यौपानेले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ६ करोड ८६ लाख ९६ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रस्तावित बजेटमार्फत अति विपन्न वन उपभोक्ता परिवारलाई गरिबी न्यूनीकरण तथा जीविकोपार्जन सहयोग, आयआर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तीकरण, सामुदायिक विकास, वन विकास तथा संरक्षण, स्वास्थ्य बीमा, स्वास्थ्य शिविर, खेलकुद व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष योगेन्द्र पौडेलले बताउनु भएको थियो ।कार्यक्रममा लेखा समितिका संयोजक बिनोद पुनले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधारणसभामा ७० बसन्त पार गरेका जेष्ठ नागरिक,उत्कृष्ट किसान एबम २०८२ को एस इ इ मा A+ ल्याउने उत्कृष्ट बिद्यार्थीलाइ सम्मान गरेको थियोे भने सामुदायिक बिधालयमा अध्ययनरत गरिब जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप पाठय सामाग्री प्रदान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत प्रभात बिक्रम सापकोटा ले वनबाट खेर गइरहेका स्रोतसाधनलाई उचित रूपमा प्रयोगमा ल्याउन सके वनले आर्थिक लाभसमेत दिन सक्ने बताउनुभयो। उहाँले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनको सुरुवात कपिलवस्तुबाटै भएको उल्लेख गर्दै प्राकृतिक स्रोतको सही सदुपयोग गर्दै वन व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले सामुदायिक वनमा हुने वन अतिक्रमण नियन्त्रण गर्नुका साथै वन क्षेत्रभित्र रहेका खोल्सा–खोल्सी व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो।कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले वनको दिगो संरक्षण र संवर्द्धनका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले वडा कार्यालयसँग समन्वय र सहकार्य गरी सामुदायिक वनको पूर्वाधार विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै साधारणसभामा समुहका पुर्ब अध्यक्ष गोपाल गिरी,सल्लाहकार नारायण खनाल,भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझी लगायतले साधारणसभाको सफलताको शुभकामना दिदै अमृतेवनले गर्दै आएका महत्वपूर्ण कार्यहरूको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रम समुहका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षता उपाध्यक्ष मीरा पौडेलको स्वागत र सचिव मीना सिंजापतिको संचालनमा भएको थियोे । वाणगंगा नगरपालिका–९ मा रहेको अमृते सामुदायिक वन ३२६.३७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वन उपभोक्ता समूहमा ३१३ घरधुरी आबद्ध रहेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३ आइतबार ००:००  ८ : ०६ बजे