मायादेवी अनलाइन, गोरुसिंगे ।
कपिलवस्तुका विभिन्न ६ स्थानीय तहका विद्यार्थीको शैक्षिक सुधारका लागि ‘ठूली दिदी (विग सिस्टर)’ कार्यक्रममार्फत विभिन्न गतिविधि सञ्चालन गरिएको छ।
हेम्पेल फाउण्डेसनको आर्थिक सहयोग तथा भिएसओ नेपालको नेतृत्वमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित ‘आधारभूत सिकाइका लागि ठूली दिदी (विग सिस्टर) सिकाइ–२’ परियोजनाअन्तर्गत जिल्लाका ३७ जना ठूली दिदी बालबालिकालाई उमेरअनुकूल सिकाइ उपलब्धि हासिल गराउन सक्रिय छन्। महाराजगंजमा ७, शिवराजमा ६, बाणगंगामा ७, बुद्धभूमिमा, ६ कपिलवस्तुमा ७, र शुद्धोधनमा ४ गरी ३७ जना विग सिस्टर रहेका हुन् ।
कार्यक्रमअन्तर्गत ठूली दिदीहरूले विद्यालयमा गरेका गतिविधि, उपलब्धि तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आइतबार बुद्धभूमि नगरपालिकास्थित पौवा होटलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा परियोजना सञ्चालनमा रहेका ६ वटै पालिकाका ठूली दिदीहरूले विद्यालयमा आफूले गरेका काम तथा त्यसबाट विद्यार्थीमा परेको प्रभावबारे जानकारी गराएका थिए।
उनीहरूले कार्यक्रमले विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै स्थानीय तह र समुदायको साथ, सहयोग तथा समन्वयबाट कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने बताए। कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहहरूले समेत ‘विग सिस्टर’ कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्नेमा उनीहरूले जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले शैक्षिक सुधारका लागि सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यार्थीको समग्र विकासमा सहयोग पुग्ने बताउनुभयो। उहाँले कार्यक्रमको कार्यक्षेत्र विस्तारसँगै निरन्तरतामा जोड दिनुभयो।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले ‘विग सिस्टर’ कार्यक्रम प्रभावकारी रहेको बताउँदै नगरपालिकाले पनि कार्यक्रमलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। उहाँले नगरपालिकाको प्राथमिकतामा शिक्षा रहेको भन्दै शैक्षिक विकासमा योगदान पुग्ने कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीले शुद्धोधनमा सञ्चालित ‘विग सिस्टर’ कार्यक्रमले आधारभूत सिकाइसँगै बालबालिकाको चेतनास्तर विकासमा समेत योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा महाराजगञ्ज नगरपालिकाका उपप्रमुख, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्वअध्यक्ष सूर्यकुमारी शाही, सचिव दुर्गा अर्याललगायतको सहभागिता रहेको थियो।
कार्यक्रमबारे भिएसओ नेपालका फिरोज सिद्धिकीले जानकारी गराउनुभएको थियो। स्वागत मन्तव्य शिवराज नगरपालिकाकी ‘विग सिस्टर’ सिर्जना पाठकले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लक्ष्मी चलाउनेले गर्नुभएको थियो। सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
‘विग सिस्टर’ परियोजना कपिलवस्तुसहित बाँके, बर्दिया र दाङका २० स्थानीय तहमा सञ्चालनमा रहेको जनाइएको छ। परियोजनाबाट ४ सय ६२ विद्यालयका करिब १ लाख ५० हजार विद्यार्थी लाभान्वित भएको आयोजकले जनाएको छ।










प्रतिक्रिया