४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

यातायात व्यवसायीको यस्तो दादागिरी, भाडादरमा ब्रम्हलुट !



बुटवल, १७ पुस ।
पेट्रोलियम पदार्थको मुख्य बृद्धि हुनासाथ भाडा बृद्धिको दवाव दिन शुरु गरेका सार्वजनिक यातायात व्यवसायीले बैज्ञानिक भाडा कायम गर्नमा आलटाल गरेका छन् । ००७२ सालमा सार्वजनिक सवारी साधनको भाडादर लागू भए पनि यस क्षेत्रका यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्दै आएका छन् ।
छोटो तथा लामो रुटमा चल्ने सवारी साधानले १० देखि १५ प्रतिशतसम्म बढी भाडा असुल्दै आएका छन् । यस क्षेत्रको ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल वस व्यवसायी संघ सहितका यातायात व्यवसायीले बढी भाढा असुलेर यात्रुलाई ठग्ने गरेका छन् । पहाडी ग्रामिण क्षेत्रमा चल्ने यातायातका साधनमा झन चर्काे भाडा लिने गरिएको छ ।
सरकारले निर्धारण गरेको भाडादर कायम नगरी उनीहरुले आफ्नै समितिले तोकेको अघोषित भाडादर कायम गरेका छन । पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ बस व्यवसायी संघ, देउराली यातायात, गुल्मी यातायात, पाल्पा यातायात लगाएतका यातायात व्यवसायीहरुले सरकारले तोकेको भाडादरभन्दा बढी भाडा असुलेर यात्रु ठगेको गुनासो छ ।
सरकारले तोकेको भाडा अनुसार बुटवलबाट काठमाडौं चल्ने बसको भाडा ४ सय ८४ रुपैया छ । तर व्यवसायीहरुले भने ५ सय देखि ५ सय ५० रुपैया सम्म लिने गरेका छन । काठमाडौं–भैरहवा–लुम्बिनी हुँदै तौलिहवा जाने भाडा ६ सय २ रुपैया तोकिएको भएपनि ८ सय देखि ९ सय रुपैया सम्म असुलिएकोे छ । त्यस बाहेक यात्रुहरुलाई बढि सुविधा व्यवसायीहरुले दिएको खण्डमा २० प्रतिशतसम्म भाडा बृद्धि गर्न सक्ने नियम छ । तर सुविधा बढि दिने सवारी साधनले पनि नियमअनुसार भाडादर लागु गरेका छैनन ।
छोटो दुरीमा चल्ने सवारीहरुले खुद्रा पैसा नहुँदा केही रकम बढि लिएको भएपनि आफ्ना माताहतमा सञ्चालनमा रहेका बसहरुले भने बढि भाडा नलिएको पश्चिम नेपाल बस व्यवसायी संघका कार्यबहाक अध्यक्ष गोपाल पौडेलले बताउनुभयो ।
लुम्बिनीबाट काठमाडौं जाने एसी बसको भाडा अहिले पश्चिम नेपाल वस व्यवसायी संघले १६ सय तोकेको छ । जवकी २० प्रतिशत भाडा दर बृद्धि गरेपनि ११ सय रुपैया हुन आउछ । डिलक्स बस, मिनि बस, माईक्रोबस र जीपहरुले यात्रुहरुलाई बढि सुविधा दिएमा २० प्रतिशत भाडादर थप गर्न पाउने व्यवस्था नियममा छ ।
त्यस्तै बढि सुविधा दिएका सवारी साधनहरुले बुकिङ काउन्टर र सवारीको टिकट, सवारी समेत छुटटै पहिचानको हुनुपर्ने नियममा उल्लेख छ । टिकट र सवारीको पहिचान छुटाइएको भएपनि भाडादरको समायोजनमा भने अहिले सम्म बस व्यवसायीहरुको ध्यान जान सकेको छैन । एसी, सुप्पर एसी बसमा पनि संघले सरकारले निर्धारण गरेको भाडा लागु गरेको दाबि गरेपनि व्यवहारमा भने लागु भएको छैन ।
भाडादर लागु भए नभएको अनुगमन गर्ने नियमन निकाय भने गुनासो नआएको भन्दै जिम्मेवारीबाट मुक्त हुन खोजेको छ । बढि भाडा लिएको भन्दै अहिलेसम्म कसैको उजुरी नआएकाले अनुगमन नगरिएको यातायात व्यवस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत केशव सुवेदीले बताउनुभयो ।

 

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  १ : ५५ बजे