६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

भैरहवा–तौलिहवा सडकको काम दु्रत गतिमा



रुपन्देही, १८ पुस ।
अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।

भैरहवा–तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका प्रमुख राजेश प्रसाद पौडेलले सडकको प्रारम्भिक चरणको काम शुरु भएको बताउनुभयो ।

उहाँका अनुसा पहिलो चरणअन्र्तगत उक्त सडकका दायाँबायाँ पुर्ने कार्य शुरु भइसकेको छ र सडकको दायाँबायाँ पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामका लागि प्रक्रिया अघि बढाइएको छ ।

भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नति गरि ६ लेनको बनाइँदै छ । भने विमानस्थल चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोक सम्म चार लेनको बनाउन लागिएको छ ।

भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको रहेको छ । त्यसैगरी लुम्बिनीदेखि कपिलबस्तु तौलिहवासम्मको सडक दुई लेनको बनाइँदै छ । उक्त सडक अहिले एक लेनको रहेको छ ।
हालको कालोपत्रलाई केन्द्रविन्दु मानी सडकको केन्द्र भागदेखि ठाउँ अनुसार दयाँबायाँ चौडा बनाइने छ । सडकको काम आगामी साढे दुई वर्ष अर्थात २०१९ डिसेम्बरसम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

सडक निर्माणका क्रममा सडक दायाँबायाँ रहेका घर पर्खाल भत्काउनु पर्ने भएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार सडक क्षेत्रमा पर्ने घर पर्खाललगायतका संरचना भत्काउँदा मुआब्जाको सट्टा उनीहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाइने पौडलले जानकारी दिनुभयो । सडक निर्माण पूरा भएपछि यो सडक निकै सुन्दर देखिने आयोजनाको दावी छ ।

 

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ५ : ०३ बजे