४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना



काठमाडौँ  । 

मौसमविद्हरूले नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको र उक्त प्रणाली थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने सम्भावना रहेको महाशाखाको आकलन छ । 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले पनि विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘मैले धेरैवटा फोरकास्ट मोडल हेर्दा धेरै वर्षाको सम्भावना बढी देखिन्छ । ४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने ( ७४१ सम्म देखाएको छ), यो भनेको एकदम धेरै हो र नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ तर यसले ल्याउन सक्ने अवस्था गम्भीर हुन सक्छ ।’

असोज ८ देखि १२ गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाडीबाट विकसित प्रणालीको प्रभाव बढ्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तरक्रिया हुने सम्भावना देखिन्छ । यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिँदा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूको आकलन छ । विशेषगरी दुई प्रणालीबीचको अन्तरक्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ्न सक्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३ आइतबार ००:००  १० : २९ बजे