रुपन्देही, २४ पुस ।
गत शुक्रबार हत्या गरिएका रुपन्देही देवदहका व्यवसायी बसन्त पौडेलको चार दिनपछि अन्त्यष्टि गरिएको छ । शहिद घोषणाका लागि स्थानीय प्रशासनले सिफारिस गर्ने लगायतका सहमति पछि सोमबार शबको पोष्टमार्टम गरिएको थियो ।
पौडेलको सोमबारै शबयात्रा सहित चितवनको देवघाटमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको हो । शबयात्रा अघि एमाले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटि सदस्य छविलाल विश्वकर्माले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।
बुटवलको राजमार्ग चौराहामा आयोजिक शोक सभामा बोल्दै उपमहासचिव भुसालले भयरहित समाज निर्माणका लागि सरकारले अपराध घटाउने गरी कदम चाल्न जरुरी रहेको बताउनुभयो ।
नेता भुसालले उद्योगमै बसेका उद्योगीको हत्या हुदा चुप लागेर बस्न नसकिने बताउनुभएको छ । प्रहरी प्रशासनले तत्काल अपराधि नियन्त्रणमा लिनका लागि कदम चाल्नुपर्ने उहाको भनाई थियो ।
अर्का नेता विश्वकर्माले देवदह क्षेत्रलाई भयरहित बनाउनका लागि प्रहरीको उपस्थिति अनिवार्य रहेको बताउनुभयो । सोही क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका उनले देवदहको प्रहरी चौकीको स्तरबृद्धि र नया अस्थायी पोष्ट निर्माणका लागि पहल हुने बताउनुभयो ।
शबयात्रामा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो । शुक्रबार विहान पौने ११ बजे ढेकावारको उज्ज्वल फर्निचर उद्योगमा बसिरहेका बेला पौडेलको हत्या भएको थियो । हत्याको बिरोधमा युवा संघ रुपन्देहीले दुई दिन रुपन्देही बन्द गरेको थयो ।
पौडेलका बाबुआमा, दुई छोरा, छोरी र श्रीमति छन् । उनका जेठा छोराले दागबत्ती दिएका छन् । शबयात्रामा देवदहबासी भावभिह्वल भएका थिए ।
प्रहरीले घटनामा संलग्न अपराधिको खोजी भइरहेको जनाएको छ । हत्याको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र संघीय प्रहरी इकाई भैरहवाको छुट्टा–छुट्टै टोली परिचालन भएको छ ।
२४ पुस २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया