४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मूल्य वृद्धिको बिरोधमा लगाइएको ताला प्रशासनले खोल्यो, आन्दोलनकारीको अडान यथावत



रुपन्देही, ११ माघ ।
सिमेन्ट र छडमा अस्वभाविक मूल्य वृद्धि गरेको बिरोधमा रुपन्देहीका उद्योगहरुमा गरिएको तालाबन्दी प्रशासनले खोलेको छ । मूल्य वृद्धिले विकास निर्माणलाई नै प्रभाव पारेको भन्दै युवा संघ नेपाल र वाइसियलले मङ्गलबार साँझ लुम्बिनी करिडोरका ११ वटा सिमेन्ट उद्योग र दुई वटा छड उद्योगमा तालाबन्दी गरेको थियो ।
सिमेन्टमा अहिले प्रति बोरा ओपिसीमा ८० रुपैया र पिपिसी सिमेन्टमा एक सय रुपैयाँ मूल्य बढेको छ । त्यस्तै छडमा प्रति किलो आठ रुपैँया बढेको छ । ताला खोलीए पनि मूल्य फिर्ता नहुँदासम्म थप बिरोधका कार्यक्रमहरु जारी राखिने युवा संघ नेपालका अध्यक्ष नकुल शाहीले बताउनुभयो ।
यता उद्योगीहरुले पत्रकार सम्मेलन गरि गुण्डागर्दी शैलीमा गरिएको तालाबन्दीको बिरोध गरेका छन् । मूल्य बृद्धिको स्पष्ठ कारण जिल्ला प्रशासनमा बुजाएकोले कुनै छलफल नगरि उद्योग बन्द गर्दा उद्योगीहरु असुरक्षित महशुस गरेको उनीहरुले बताए ।
कच्चा पदार्थ, ढुवानी भाडा, बिद्युत, डिजल लगायतमा मूल्य बृद्धि भएसँगै पुष महिनादेखि सिमेन्ट र छडमा १० देखि १५ प्रतिशतसम्म मूल्य बढाएको उद्योगीहरुले बताएका छन् । निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि ठेकेदार कम्पनीहरूले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ३ : ५१ बजे