४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बुटबलमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु



बुटवल, ११ माघ ।
जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज बिहान लु१ख ९८३९ नं को टिपरले ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।
घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट सख्त घाइते हुनुभएकी भट्टराईको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
टिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए । आगजनीबाट टिपर पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ । सोही क्रममा आक्रोशित समूहले अन्य दुई वटा टिपरसमेत तोडफोड गरी क्षति पु¥याइदिएका छन् । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको थियो । (रासस)

 

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ७ : ४६ बजे