४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तीन बालिकाको कृष्णनगरबाट उद्धार



सीताराम चौधरी,कृष्णनगर, १२ माघ ।
मानव अधिकारको क्षेत्रमा कार्यरत शान्ति पुनस्र्थापना गृहले नेपाल–भारत सीमाक्षेत्रबाट एक सातामा तीन बालिकाको उद्धार गरेको छ । सीमा निगरानीका क्रममा प्रहरीको सहयोगमा संस्थाले कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट प्यूठान घर भएका ती बालिकाहरुको उद्धार गरेको हो । प्यूठानको सरुमारानी गाउँपालिका घर भएका दुई र स्वर्गद्वारी नगरपालिकाकी एक बालिकालाई उद्धार गरी घर फिर्ता गरेको शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । संस्थाले दुई दिनअघि १२ वर्षीय नाम परिवर्तन शान्ति र १४ वर्षकी मीनालाई भारत जाने क्रममा उद्धार गरेको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
गरीबीका कारण पढ्न छाडी बेरोजगार बनेका ती बालिकाहरुलाई काठमाडौंमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी विचौलियाले सीमा नाका कटाउन लागेको संयोजक भट्टराईले बताए । विचौलियाले ती बालिकाहरुलाई शिवराज नगरपालिकाको वडा नं. १ स्थित एक गाउँको सानो होटलमा एक रात राखी अर्को दिन विहानै कृष्णनगर पु¥याएको बुझिएको छ । सीमा निगरानीमा खटिएका शान्ति पुनस्र्थापना गृहका कर्मचारीले शंका लागेर सोधपुछका लागि उनीहरुलाई सम्पर्कमा ल्याएको थियो । सोधपुछका क्रममा उनीहरु विचौलियाको फन्दामा परेको बुझिएको संयोजक भट्टराईले बताए । उद्धार गरिएका दुई बालिकालाई परिवारको जिम्मा लगाई घर फिर्ता गरिएको शान्ति पुनस्र्थापना गृहका संयोजक भट्टराईले जानकारी दिए ।
यसैबीच चार दिनअघि पीआरसीले कृष्णनगर प्रहरीको सहयोगमा प्यूठानकी अर्की १४ वर्षीय बालिकालाई सीमाबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । प्यूठान स्वर्गद्वारी नगरपालिकाकी माया (नाम परिवर्तन) लाई बिवाहको नाटक रची भारततर्फ लैजाने क्रममा उद्धार गरिएको हो । प्युठानकै २० वर्षीय राजु सार्कीले बजार जाने निहु पारी बर्डर पार गर्नु भनी सिकाएको बालिकाको बयानलाई उदृत गर्दै शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । विचौलियाले बालिकालाई जबरजस्ती करणी गरेको समेत आरोप छ ।
पछिल्लो समयमा गाउँका सोझासाझा युवतीहरुलाई विभिन्न बहानामा विचौलियाले यौनशोषण तथा वेचविखनका लागि प्रलोभनमा पारी सीमा कटाउने गरेको पीआरसी संयोजक भट्टराईले बताए । बिचौलिया र उद्धार गरिएकी बालिकालाई विशेष अनुसन्धनका लागि इलाका प्रहरी कृष्णनगरमार्फत जिल्ला प्रहरी कार्यालय प्यूठान पठाइएको प्रहरी निरीक्षक सुभाष गैरेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  २ : १५ बजे