२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भव्य समारोहका बीच प्रथम बुद्धभुमि महोत्सवको उद्घाटन



मायादेवी अनलाइन, कपिलवस्तु, १२ माघ ।
कपिलबस्तुको बुद्धभुमि नगरपालिका इमिलियामा शुक्रबार देखि प्रथम बुद्धभूमी कृषि औद्योगिक प्रदर्शनी शुरु भएको छ । ‘कृषी पर्यटन उद्योग र व्यापार राष्ट्र निर्माणको मुल आधार’ भन्ने मुल नाराका साथ सञ्चालन भएको पहिलो बुद्धभुमि महोत्सव माघ २१ गते सम्म चल्नेछ । महोत्सवको उद्घाटन पूर्व बुद्धभूमिबासीले विभिन्न र्याली निकालेका थिए । विद्यालय, विभिन्न संघ, संस्थाले महोत्सवको उद्घाटनमा झ्याकी सहित र्याली निकालेका हुन ।
महोत्सव उद्घाटनमा सिंचाई राज्यमन्त्री अमर पुन आउने कार्यक्रम तय गरिए पनि मौसम प्रतिकुलताको कारण आउन नसकेको आयोजकले जनाएको छ । राज्यमन्त्री अनुपस्थित भएपनि कपिलवस्तु प्रतिनिधिसभा एकका सांसद चक्रपाणी खनालले महोत्सवको उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै सांसद खनालले बुद्धभुमिमा लागेको प्रथम महोत्सव सफलताको शुभकामना दिनुभयो । साथै उहाले चुनावको बेला जनता माझ गरेका प्रतिबद्धतालाई पुरा गरेर देखाउने उद्घोष गर्नुभयो ।
सोहि अवसरमा प्रदेशसभा सांसद दीर्घ नारायण पाण्डे, धर्मबहादुर लाल श्रीवास्तव, बुद्धभुमिका मेयर केशव श्रेष्ठ लगायतले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।
बुद्धभूमी नगरपालिका क्षेत्रको पर्यटकीय विकास, व्यवसायको वृद्धी तथा कृषि उपजहरुको बजारीकरण गर्ने महोत्सबको मुख्य उद्धेश्य रहेको आयोजक संस्था जनआर्दश सामाजिक विकास केन्द्रले जनाएको छ ।
महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृती, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, थारु समुदायका संस्कृती झल्काउने प्रर्दशनी, परिकार, होटल व्यबासाय, औधोगिक उत्पादन, बैङ्किङ्ग सम्बन्धी जानकारी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिने बताइएको छ ।
महोत्सवमा १ सय ५१ स्टल रहेका छन । रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सबको अवधीभरमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै १ करोड ५० लाख बराबरको कारोबार हुने आयोजक पक्षले अनुमान लिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  ३ : ३१ बजे