६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सम्झौता विपरित नदीजन्य पदार्थ उत्खनन



मायादेवी अनलाइन, गुल्मी ।
गुल्मीका खोलाहरुमा सम्झौता विपरित ढुङ्गा, गिटी वालुवा उत्खनन भैरहेको छ । जिल्ला समन्वय समिती गुल्मी र ठेकेदार कम्पनी बीच सम्झौता भएपनि उक्त सम्झौता र निर्देशनलाई अटेर गर्दै ठेकेदारहरुले खोलामा ब्रम्हलुट गरेका छन । उनीहरुले कानून बिपरित नदी किनार तथा खोलाहरुमा नदीजन्य पदार्थ उत्खनन गरेका हुन ।

जिल्ला समन्वय समिति गुल्मीले जिल्लाका विभिन्न खोला तथा नदीहरुमा १ दर्जन बढी निमार्ण कम्पनीलाई नदीजन्य ढुङ्गा, गिटी बालुवा उत्खननको स्वीकृति दिएको थियो । टेन्डर परेका कम्पनीहरुले कानून अनुसार गिटी बालुवा झिक्न पाउँने भएपनि जिल्लाका छल्दी, पनाह, वडीगाढ, कालीगण्डकी, खज्याङ्ग खोलाहरुमा ठेकेदारहरुले कानुन विपरित ढुङ्गा, गिटी, वालुवा उत्खनन गरेको स्थानीयवासीले गुनासो गरेका छन ।

जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले जिल्लाका खोलाहरुमा मेसिन प्रयोग गरेको गुनासो आफुसँग आएकाले अनुगमन गर्ने बताउनुभयो । समिती र ठेकेदार कम्पनी सगँ भएको सम्झौता अनुसार ढुङ्गा, गिटी, वालुवा निकाल्ने काम नभएको भए हामी कारवाही गर्छौ प्रमुख पराजुलीले भन्नुभया,े ‘तर हामीले अहिलेसम्म फेला पारेका छैनौ ।’ उहाका अनुसार जिल्लामा अधिकांश सडकहरु कालोपत्रे गर्ने काम भैरहेकाले पनि केही समस्या भने आएको बताउनुभयो ।

मानिसहरु लगाएर गिटी, वालुवा र ढुङ्गा निकाल्दा लामो समय लाग्ने रहेछ उहा भन्नुहुन्छ ‘ केही समस्याहरु छन, तर नियम विपरित र प्राकृतिक सरंचना नै विग्रने गरि भएको भए रोक्छौ ।’ उहाको भनाईले घुमाउरो पारामा नदी तथा खोलामा मेसिन लगाएर गिट्टी वालुवा निकाल्ने गरेको बुझिएको छ ।

खोला तथा नदी किनारमा प्राकृतिक संरचना नै बिग्रने गरी नदीबाट ढुङ्गा, गिटी र वालुवा दोहन हुन थालेपनि अहिलेसम्म नत प्रशासनले नियन्त्रण गर्न सकेको छ नत अहिलेसम्म समन्वय समितीले नै कुनै कारवाही गरेको छ । सम्झौता भएको निमार्ण कम्पनीले नियम विपरित ढुङ्गा, गिटी र वालुवा निकाल्दा समेत कारवाही नगर्दा ढुङ्गा, गिटी र वालुवाको तस्करी समेत बढेको हो ।

जिल्लाका छल्दी, पनाह, वडीगाढ, कालीगण्डकी, खज्याङ्ग खोलाहरुमा मेसिनको प्रयोग नगरी गिटी वालुवा उत्खनन् गर्ने ठेक्का सम्झौता गरेको भएपनि केही खोलाहरुमा धमाधम जेसिवि, एक्साभेटर जस्ता मेसिन प्रयोग गरेर उत्खनन भैरहेको हो । छल्दी खोलामा मेसिनको प्रयोग गरेर ढुङ्गा, गिटी, वालुवा उत्खनन गर्दा पनि कसैले केही कारवाही गर्न नसकेको स्थानीय सुर्य खत्रीले बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याकंनको प्रतिवेदन अनुसार नदी बगरमा जेसिवि, एक्साभेटर जस्ता मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाउने भन्ने बुझेका थियौ खत्रीले भन्नुभयो ‘अहिले त धमाधम जेसिवि, एक्साभेटर लगाएर ढुङ्गा, गिटी, वालुवा निकालीरहेका छन ठेकेदारले ।’ आफुले धेरै पटक जानकारी गराएको भएपनि प्रशासन र समन्वय समितीले कुनै वास्ता नगरेको उहाको भनाई छ ।

मेसिन प्रयोग नगर्ने गरी ठेक्का सम्झौता भएपनि प्रशासनलाई चुनौती दिदै नियम विपरित ठेकेदारहरु वगरमा अवैध उत्खनन गर्न पल्केका छन् । बिशेष गरी छल्दी खोलाको वगरबाट दैनिक २÷३ भन्दा वढी जेसिविले ढुङ्गा गिटि झिक्ने गरेको स्थानीयहरुले बताएका छन् । यस क्षेत्रमा ३० भन्दा वढी ट्याक्टर र ट्रिपर जेसिविले उत्खनन गरेको ढुङ्गा गिटि वालुवा वोक्न लामवद्घ हुने गरेको स्थानीयहरुको भनाइ छ ।

वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदन अनुसार नदी बगेको दायाँवायाँ पाँच मिटर छाडेर गिटी वालुवा निकाल्न नपाइने गरी सम्झौता भएको छ । तर नदी बगेको करिव एक मिटर आसपासबाट बगर उत्खनन भइरहेको छ । नियम विपरित ठेकेदारहरुले नदी वगरमा ब्रम्हलुट गरिरहेका छन् । समन्वय समितीले जिल्लामा सवै नदी र खोलाहरुमा ढुङ्गा, गिटी, वालुवा उत्खननका लागि करिव १ करोड बरावरको ठेक्का सम्झौता भएको जनाएको छ ।

चालू आवमा ठेक्का सम्झौता गरेका ठेकेदारहरुले असोज देखि जेठसम्म गिटी वालुवा निकाल्न पाउनेछन् । जिल्ला समन्वय समितिका प्रमुख स्थानीय बिकास अधिकारी कल्पना श्रेष्ठले ढुङ्गा, गिटी, वालुवा उत्खनन गर्नका लागि जेसिवी लगाउन नपाइने बताउनुभयो । खोलामा जेसिवी लगाउन पाईदैन उहा भन्नुहुन्छ ‘हामीकहाँ पनि केही गुनासो आएकाले प्रहरीलाई खवर गरेर भेटिएमा सवारी जफत गर्ने अनुरोध गरेका छौ ।’

प्रकाशित मिति : २० जेष्ठ २०७५ आइतबार ००:००  २ : ३८ बजे