बिकास थापा, वाणगंगा ।
बाणगंगा नगरपालिका वडा नं. ५ झण्डाका चेतनारायण पाण्डेले केरा खेती गर्न लागेको तीन वर्ष भयो । विं. सं. २०७२ सालबाट सुरु गर्नु भएको केरा खेतीबाट पाण्डेले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । सुरुमा ५ कठ्ठामा ४ सय केराका बोटबाट सुरु गरेको ब्यवसाय अहिले फष्टाएर २५ कठ्ठा सम्म आईपुगेको छ । उमेरले ५० काट्नु भएका पाण्डेले केरा खेतीबाटै वार्षिक ५ लाख भन्दा बढीको आम्दानी गर्न सफल हुनुभएको छ । बिं.सं. २०५८ सालमा बैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुग्नु भएका पाण्डेले विदेशमा पनि २ बर्ष कृषि फर्ममा काम गरेको अनुभव आर्थिक खबरलाई सुनाउनुभयो । कुवेतबाट १ बर्षमा स्वदेश फिर्ता भई पुन ः खाडी जान भनेर काठमाण्डौं भिसा लगाउन हिड्नुभएका पाण्डे भिसा स्थगन गरेर आफ्नै घरमा फर्केर ब्यवसाय सुरु गरेको बताउँनुहुन्छ । “सुरुमा त विदेशमा नै जाने सोच थियो भिसा पनि लागि सकेको थियो तर पछि सोचे स्वदेशमा नै केहि गर्नुपर्छ ।” त्उहाले भन्नुभयो । भिसानै स्थगन गरेर सुरु गरेको व्यवसायले आफुलाई मालामाल भएको उहाँले बताउनुभयो ।
आफुले गरेको केराखेतीबाट आफू पूर्णरुपमा सन्तुष्ट भएको पाण्डेको भनाई छ । उहाँले केरा खेतीलाई अझै बिस्तार गर्दै लैजाने बताउनुभएको छ । उहाँको खेतमा अहिले झण्डै १ हजार ७ सय ५० भन्दा बढी केराका बोट रहेका छन । पाण्डेले यसबर्षको सिजनमा ५ लाख आम्दानी भएको बताउनुभयो । उहाँले हाल हरिछाल नामक केरा खेतमा लगाउनुभएको छ । आफ्ुले उत्पादन गरेको केरालाई जिल्लाका विभिन्न स्थानमा लगेर विक्री गर्ने गरेको बताउन्ुभयो । यसका साथै ब्यापारी स्वयम पनि उहाँको घर सम्म आएर केरा किन्ने गरेका छन् ।
पाण्डेले केराखेती सँगै मौरीपालनबाट पनि बार्षिक रुपमा ७० हजार भन्दा बढीको आम्दानी गरेको बताउँनुहुन्छ । केरा खेती संगसगंै मौरी पालन पनि गर्नु भएका पाण्डेको घरमा १० वटा मौरीका घारहरु रहेका छन् । पछिल्ला दिनहरुमा मौरीको घारलाई पनि थप बढाउँदै र ब्यवस्थित पार्दै लैजाने बताउनुभयो । पाण्डेको ब्यवसायमा उहाँको घर परिवारको पनि पूर्ण साथ र सहयोग रहेको छ ।
कामको खोजीमा बिदेश पलायन हुने तथा कामको खोजीमा भौतारि रहनुपर्ने बाध्यता भएका नेपाली युवाहरूमा पाण्डे एक शसक्त उदाहरणको रुपमा स्थापित हुनुभएको छ । पाण्डेले स्वदेशमा केहि छैन अवसर भन्नेहरुको लागि एक गतिलो उदाहरण बन्नु भएको छ । पाण्डेको घरमा श्रीमती, दुई छोरा, १ छोरी र आमा हुनुहन्छ । आफनो ब्यवसायमा सबै परिबारको साथ मिलेको उहाको भनाई छ । उहाले यस ब्यवसायबाट दुई जनालाई पनि रोजगारी दिनुभएको छ । साथै पाण्डले गाउँका केही युवाहरुलाई केरा खेती गर्नेबारे सल्लाह सुझाव दिदै आएको बताउनुहुन्छ ।
पछिल्लो समय बजारमा गुणस्तरहिन, बिषादी प्रयोग भएका, राम्रा देखाउन बिभिन्न प्रकारका क्यामिकल हालेका केरा आएका हुनाले गाउँघरमा उत्पादन भएका केरा बिक्री गर्न समस्या परेको कृषक पाण्डेले गुनासो छ । यसका लागि सम्बन्धीत निकायले पनि अनुगमन गर्नुपर्ने उहाको भनाई छ । केरा खेतीबाट उहाले छोराहरुलाई अध्ययनका लागि विभिन्न ठाउमा पठाउनु भएको छ । पाण्डेले जस्तै निरन्तर रुपमा मिहेनत र परिश्रम आफ्नै गाँउघरमा गर्ने होे भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो पात्रको रुपमा हामीले पाण्डेलाई लिन सकिन्छ ।
पाण्डै संगै पछिल्लो समय जिल्लामा केरा खेती गर्ने युवाको संख्या बढ्दो छ । यहाका धेरै युवाहरु कृषि ब्यवसायमा नै रमाउने गरेका छन् । कतिपय युवाहरु त डिग्रीका सर्टिफिकट लिईकन भएपनि कृषि ब्यवसायलाई अंगालेका छन् । यसरी युवाहरुले खाडीको सपना नदेखी आफ्नै गाउँठाउँमा कम लगानीमा धेरै मेहनत गरे जीवन फेरिन बेर लाग्ने छैन । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा १ सय ६७ हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको छ ।
२१ जेष्ठ २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया