१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलबस्तुमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु



भुपाल थापा, कपिलबस्तु ।
कपिलबस्तुमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु भएको छ । जिल्लाको दक्षिणपुर्वी सिमावर्ती क्षेत्र शुद्धोधन गाउपालिका, ४ औरहियामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु गरेको हो । अध्ययन पश्चात् रोजगारीको अवसर प्राप्त हुने भएकाले प्राविधिक शिक्षा प्रति विद्यार्थीको आकर्षण समेत बढ्दै गएकाले जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङमा पठनपाठन सुरु गरिएको बिद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेयले बताए ।

घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यहॉका विद्यार्थी पनि निकै उत्साहित भएका छन् । “४८ वटा कोटा रहेकोमा अहिले सम्म १३ जना विद्यार्थी भर्ना भएका छन्,” प्रधानाध्यापक पाण्डेय बताउछन् । यहाँ कपिलबस्तु लगायत रुकुम, सल्यान, स्याङ्जा लगायतका विभिन्न जिल्लाका विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको छ ।

सस्तो र गुणस्तरिय खालको शिक्षा प्रदान गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिइभिटी)बाट सम्बन्धन प्राप्त सिभिल इञ्जिनियरिङ कक्षा शुरु गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एवं शुद्धोधन गाउपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन् ।

शुद्धोधन गाउपालिकालाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट बनाउन गाउपालिकाले अधिकतम लगानी गरेको गाउपालिकाका अध्यक्ष निसार अहमद खांनले बताए । गाउपालिकाबाट बिद्यालयमा सिभिल इन्जिनियरिङ पठनपाठनका लागी २४ लाख बजेट बिनियोजन गरेको उनले बताए । चालु आव २०७५÷०७६ मा शिक्षा क्षेत्रमा ६१ लाख बजेट बिनियोजन गरिएको समेत बताए ।

तीन वर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ शिक्षा अन्तर्गत सात विषयको पढाइ भइरहेको छ । एसईई शिक्षा पूरा गरेपछि अन्यत्र पठनपाठनका लागि बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो । प्राविधिक शिक्षामा हाल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिइभिटी) र शिक्षा विभागअन्तर्गत साधारण विद्यालयहरुमा समेत प्राविधिक शिक्षाको अध्ययन भइरहेको छ ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेपछि विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्न सकिन्छ । हाल मुलुकभरका २०३ विद्यालयमा प्राविधिक शिक्षाको पढाइ हुँदै आएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७५ मंगलबार ००:००  १२ : ५८ बजे