३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

राप्तीको बाढीले बाँकेका २० घरपरिवार विस्थापित



बाँके ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका बासिन्दा राप्ती नदीबाट पीडित बनेका छन् ।
नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि त्यस क्षेत्रका २० घरपरिवार विस्थापित भएका छन् । तीन साताको अन्तरालमा त्यस क्षेत्रमा करीब ५० बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउँछन् ।

राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष मदन ओलीले राप्ती नदीले धार परिवर्तन गरेका कारण तीन साताको अन्तरालमा मात्रै सो क्षेत्रमा करीब ५० बिगाहाभन्दा बढी खेतीयोग्य जमीन काटान गरी नदी गाउँतिर आउन लागेको बताउनुभयो ।

नदी कटान रोक्नका लागि तटबन्धको लागि ‘जनताको तटबन्ध कार्यक्रम’ तथा विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । मङ्गलबार प्रदेश नं ५ का सांसद कृष्णा केसीले नदीले कटान गरेको जग्गा अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा सांसद केसीले तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्ने तयारी भइरहेको बताउनुभयो ।

“राप्ती नदीको कटान रोक्नका लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमीनको विकासका लागि प्रदेश तथा केन्द्र सरकारबाट विशेष पहल गर्नेछु”,उहाँको भनाइ थियो । (रासस)

प्रकाशित मिति : १३ भदौ २०७५ बुधबार ००:००  २ : ०४ बजे