६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सङ्घीय सरकार समक्ष कर्मचारी संशोधन प्रस्ताव



बुटवल ।
प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको कर्मचारी विवरणमा संशोधन माग गर्दै प्रदेश ५ को सरकारले कर्मचारीको दरबन्दी बढाइदिन सङ्घीय सरकारसँग सिफारिश गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारका ६ वटै मन्त्रालयमा हाल केन्द्र सरकारले तय गरेको कर्मचारी दरबन्दी अपुग रहेकाले बढाउन माग गर्ने निर्णय गरी सङ्घीय सरकारलाई सिफारिश गरेको भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

सङ्घीय सरकारले प्रदेश सरकारका लागि दुई हजार ७१४ जना कर्मचारीको दरबन्दी तोकेकामा प्रदेश सरकारले तीन हजार १५७ जना कर्मचारीको सिफारिश गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ३८ जनाबाट बढाएर ५२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ६७ जनाबाट ७७ र भौतिक पूर्वाधार विकास मन्त्रालयमा ६०७ जनाबाट ७०८ जना कर्मचारी सङ्घीय सरकारसमक्ष माग गर्ने सिफारिश गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा एक हजार २३८ जनाबाट एक हजार ३५७, सामाजिक विकास मन्त्रालयमा २३३ जनाबाट ३८५ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ४४३ जनाबाट ४६१ जना कर्मचारी दरबन्दी पु¥याउन प्रदेश सरकारले माग गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका सदस्यमा अर्घाखाँचीकी पुष्पा भुसाल लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको छ । कृषि र समाजशास्त्रमा स्नातकोत्तर भुसाल कृषि कीट विज्ञान विज्ञ हुनुहुन्छ । योजना आयोगमा यसअघि उपाध्यक्षमा अर्घाखाँचीकै डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा गुल्मीका इञ्जिनियर विष्णु गौतम नियुक्त भइसक्नुभएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७५ बुधबार ००:००  २ : ४९ बजे