४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सकियो बिम्स्टेक सम्मेलन, १८ बुँदे घोषणापत्र जारी



काठमाडौं ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलले विम्सटेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए । बिम्स्टेक सम्मेलनलाई सदस्य राष्ट्रहरूलाई परिणाममुखी बनाउन लागि गरिबी निवारण, ऊर्जा व्यापार, सदस्य राष्ट्रहरूबीच स्वत्न्त्र व्यापारलगायतका विषयमा सम्झौता भएको पनि मन्त्री ज्ञवालीले बताए। कार्यक्रममा उनले आतंकवादविरुद्ध सदस्य राष्ट्रहरू एकजुट भएर लड्ने र आ(आफ्नै क्षमताअनुसार सदस्य राष्ट्रहरूले बिम्स्टेकको पुँजी निर्धारण गर्ने तथा सहमति र सहकार्यकै आधारमा अघि बढ्ने विषयमा छलफल भएको उनले बताए।
इन्टरनेट, सडक, रेल आदिका माध्यमबाट सदस्य राष्ट्रहरू एक अर्कामा जोडिने र अझ घनिष्ठ हुनेबारेमा पनि सहमति भएको मन्त्री ज्ञवालीले सुनाए। पर्वतीय पर्यावरणको संरक्षण र दिगो विकासका बारेमा पनि छलफलमा सहमति भएको उनले बताए। सम्मेलनमा सदस्य राष्ट्रहरूको आन्तरिक राजनितिक विषयमा भने केही कुरा नभएको पनि मन्त्री ज्ञवालीले स्पष्ट पारे। रेल वे बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आपसी सम्झौता हुने पनि उनले बताए।
नेपालमा भूकम्पका बेला थाइलेन्ड सरकारले दिने भनेर घोषणा गरेको १७ करोडबराबरको समान हस्तान्तरण गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए। द्विपक्षीय सम्झौता बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्डसँग गरेको पनि उनले बताए । बिम्स्टेकले सार्कलाई प्रतिस्थापन गर्ने होइन भनेर प्रधानमन्त्री ओलीले पनि भनेको र सार्कमा केही विमति रहेका र ती विमति सुल्झनासाथ सार्क पुनस्स्थापित हुने उनको भनाइ छ। सम्मेलनमा आएका विशिष्ट अतिथिहरूमध्ये चार देशका अतिथिहरू आजै र बाँकी दुई देशका अतिथिहरू भोलि स्वदेश फर्कने कार्यतालिका छ।

प्रकाशित मिति : १५ भाद्र २०७५ शुक्रबार ००:००  ९ : ३२ बजे