१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सडकमा जाने चिकित्सकलाई जेल हाल्छौँ– जनसंख्या मन्त्रालय



मायादेवी अनलाइन 

अत्यावश्यक उपचार सेवा छोडेर आन्दोलनमा होमिने डाक्टरलाई सरकारले जेल हाल्ने चेतावनी दिएको छ ।

चिकित्साजस्तो अति संवेदनशिल क्षेत्रमा जनतालाई सेवा दिन छोडेर आन्दोलनमा होमिने डाक्टरमाथि सरकार आक्रामक रुपमा प्रस्तु हुँदै ५ महिना जेल हाल्ने र २ सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने गरी यस्तो चेतावनी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै तुरुन्त आन्दोलन छोडेर उपचार सेवामा फर्कन आग्रह गरेको हो । अन्यथा अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारवाही मन्त्रालयले कारबाही गर्ने छ, विशेष सूचनामा भनिएको छ ।

अत्यावश्यक सेवा ऐनको दफा ४ मा निषेध गरिएको कुनै हड्ताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा हड्तालमा सहभागी हुने व्यक्तीलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

मुलुकी अपराध संहिता (ऐन)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि विरामी चरम मर्कामा परेको भन्दै सरकारले यस्तो कदम चाल्न बाध्य भएको बताइएको छ ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका चिकित्सकले  अहिले देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरेका छन् । सरकारले डाक्टरलाई अपराधि सरह व्यावहार गरेको भन्दै त्यसको संशोधन नभएसम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकार आक्रामक रुपमा प्रस्तु भए पनि आफूहरु पछि नहट्ने भन्दै चिकित्सकहरुले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेका छन् ।

चिकित्सकको आन्दोलनका कार्यक्रमहरुमा १८ गते सोमबार आज देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने , भाद्र १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने, भाद्र २० गते बुधवारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने, भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने, भाद्र २२ गते शुक्रबार देखी आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने लगायतका रहेका छन् ।

डाक्टरहरु उपचार सेवा छोडेर आन्दोलनमा होमिएपछि देशभरका अस्पत्तलमा उपचारको लागि पुगेका विरामी मर्कामा परेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७५ सोमबार ००:००  ३ : ०८ बजे