७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

आज कुशे औँशी पर्व, बुबाको मुख हेर्ने दिन



मायादेवी अनलाइन, कपिलवस्तु ।
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।
यसैबीच यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ। आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ। यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ।

प्रकाशित मिति : २४ भाद्र २०७५ आइतबार ००:००  २ : ३४ बजे