६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

दाङका मुक्त कमैयालाई जग्गा उपलब्ध



घोराही ।

सरकारले २०५७ सालमा कमैयालाई मुक्त घोषणा गरेयता उनीहरुलाई बासस्थानका लागि जग्गा र घर बनाउन काठ उपलब्ध गराउँदै आएको छ ।

जिल्ला भूमि सुधार कार्यालय दाङका कमैया वृत्तिविकास तथा बसोबास शाखाका प्रमुख हरिप्रसाद चौधरीका अनुसार लगत लिएर परिचयपत्र वितरण गरिएका मुक्त कमैया परिवारको सङ्ख्या एक हजार ४२६ रहेको छ ।

हालसम्म ७०५ मुक्त कमैया परिवारले घर बनाउन जग्गा पाएका छन् । उनीहरुलाई ६ धुरदेखि पाँच कठ्ठासम्म जग्गा पाएका छन् ।

जग्गा पाएपछि घर बनाउन वन कार्यालयले १७७ मुक्त कमैया परिवारलाई काठ उपलब्ध गराएको छ भने २२१ परिवारलाई काठ वितरण गर्न पक्रिया अघि बढाइएको छ । काठ दिन नसक्ने अवस्थामा वनले मुक्त कमैयालाई प्रतिपरिवार एक लाख उपलब्ध गराउँदै आएको छ ।

आर्थिक बर्ष २०७४÷७५ मा जिल्ला भूमि सुधार कार्यालयले २०४ परिवारलाई काठबापतको एक लाख वितरण गरेको छ । सम्पर्कमा आएका मुक्त कमैया परिवारलाई रकम वितरण गरिँदै आएको छ ।

सरकारले मुक्त कमैयाको आर्थिक अवस्था हेरेर रातो, नीलो, पहेँलो र सेतो कार्ड वितरण गरेको छ । भूमिसुधार ऐनमा घर र जग्गा दुवै नभएका तथा अरुको घरगोठमा आश्रय लिएर बसेकालाई रातो कार्ड दिने प्रावधान छ ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : १४ बजे