१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नरभक्षी चितुवा मार्न सुरक्षाकर्मी परिचालन



प्रेमनारायण आचार्य, अर्घाखाँची ।
अर्घाखाँचीको किमडाँडा क्षेत्रमा नरभक्षी चितुवा नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।
सोमबार दिउँसो साढे तीन बजे सन्धिखर्क नगरपालिकाको वडा नम्बर–८, किमडाँडाको नेपाली चौरमा नरभक्षी चितुवाको आक्रमणबाट ५ वर्षीया बालिकाको ज्यान गएपछि चितुवा मार्न विशेष सुरक्षा टोली परिचालन गरिएको हो ।
चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले चितुवा मार्नका लागि नेपाली सेनाका ४०, नेपाल प्रहरीका २५ र शसस्त्र प्रहरीको १५ जना गरी ८० जनाको विशेष टोली परिचालन गरिएको छ ।
सेना र प्रहरीसँगै जिल्ला वन कार्यलयको टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दा मिलेर चितुवाको खोजी गरिरहेका छन् । पटक पटक बालबालिकालाई चितुवाले आक्रमण गरेपछि स्थानीयहरु सारै आतंकित बनेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी ५ वर्षीय सदीक्षा रानाको तीजको समयमा मामाघर जाँदै गर्दा चितुवाको आक्रमणबाट मृत्यु भएपछि चितुवा मार्न किमडाँडा क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो ।
बालिकालाई चितुवाले आक्रमण गरेपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी नायब उपरीक्षक नवराज मल्ल र जिल्ला वन कार्यलयका प्रमुख दिपक पण्डित सहितको टोली घटनास्थल पुगेर बालिकाका आफन्तसँग भेटेर समवेदना व्यक्त गर्दै आफूहरु चितुवा मार्न लागिपर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
नरभक्षी चितुवाले पछिल्लो ३ वर्षमा डेढ दर्जन बालबालिकालाई आक्रमण गरेका कारण १२ जनाको ज्यान गएको छ भने ६ जना घाइते उपचार पछि निको भएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  १ : ५९ बजे