१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देहीका तीन पेट्रोल पम्पमा सिलबन्दी



भैरहवा ।
ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ ।
सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले बुधबार छड्के अनुगमन शुरु गरेको हो ।
ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यू एभरेस्ट आयल सप्लायर्समा सिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रजिअ नारायण पाण्डेले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशन अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृतरुपमा पेट्रोल तथा डिजल बिक्री–वितरण गरेको थिए ।
भारतीय बजारमा पेट्रोलियम पदार्थ अनाधिकृत रुपमा पैठारी गरेको सूचना थाहा पाएपछि निगमले भारतीय नम्बरका मालवाहक ट्रक, बस र कारलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटर इन्धन मात्र दिन पाइने सर्कुलर गरेको थियो ।
आयल निगमको निर्देशनलाई अवज्ञा गर्दै ती पेट्रोल पम्पले भारतीय नम्बरका सवारीसाधन तथा बस र ट्रकलाई मागे जतिको इन्धन दिएको अनुगमनका क्रममा अनुगमन टोलीले भेटेपछि कार्वाही प्रक्रिया अगाडि बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्यायले बताउनुभयो ।
नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पर्दाथ डिजल र पेट्रोलको मूल्यमा झण्डै २० रुपैयाँ बढी छ । नेपालबाट इन्धन भारततर्फ विभिन्न माध्यमबाट पैठारी हुँदा नेपाली बजारमा अभाव देखिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा सिलबन्दी गरिएका पेट्रोल पम्पलाई कानुन अनुसार कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । बजार अनुगमनलाई समेत निरन्तरता दिने संयुक्त बजार अनुगमन टोलीले बताएको छ । (रासस)

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  ११ : ५३ बजे