१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्घाखाँचीमा चितुवाको त्रास, ५ बर्षमा १३ को ज्यान गयो



अर्घाखाँची ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नजिकैका गाउँहरुमा बर्षेनी चितुवाको त्रास फैलने गरेको छ । कुर, खाँचीकोट, फुदबाङ, किमडाँडा लगायतका गाउँमा चितुवाले त्रास फैलाएको हो । २०७० सालदेखि सदरमुकाम सन्धिखर्क नजिकैका यी बस्तीमा चितुवाले १० वर्षमुनिका बालबालिकालाई आक्रमणको निसाना बनाइरहेको छ ।
बर्से्नि बालबालिकाको ज्यान लिएको छ । यो अवधिमा १९ जना बालबालिका चितुवाको सिकार भएका छन । जसमध्ये १३ जनाको ज्यान गयो  भने ६ जना घाइते भएको तथ्यांकमा उल्लेख छ ।
गत सोमबार आक्रमणमा ज्यान गुमाएकी सदीक्षाकी सानीआमाको घरनजिकै जंगल थियो । सदीक्षाको आक्रमणपछि गाउँ त्रस्त छ । ‘सदीक्षा बसेको ठाउँ झाडी जंगल थियो,’ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले भन्नुभयो, ‘ठूला रूख खासै थिएनन । काँडैकाँडा, मान्छे नै छिर्न नसकिने जंगल थियो । चितुवा त्यसमै लुकेर बसेको हुन सक्छ ।’
चितुवा खोज्दा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय परिचालन भएको उहाले बताउनुभएको छ । अघिल्लो वर्ष खाँचीकोटका मनीषको घरमा जस्तै सदीक्षाको घरमा पनि सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि पुगेर चितुवाको खोजी गरी नियन्त्रणमा लिने आश्वास दिएका थिए ।
गाउँलेले नरभक्षी चितुवालाई नियन्त्रणमा लिन र ढुक्कसँग बस्ने वातावरण मिलाइदिन सुरक्षाकर्मीसँग माग गरेका हुन । स्थानीय विष्णु ढुंगानाले धेरैपटक मोटरसाइकलमा हिँडदा बाटो छेकेको बताउनुहुन्छ । फरक–फरक रंगका देखिएकाले चितुवाको संख्या यहाँ धेरै हुन सक्ने उहाले बताउनुभयो ।
प्राय – पोथी चितुवाले आफ्ना बच्चालाई आहार नपुगेपछि यसरी आक्रमण गर्ने विज्ञहरू बताउँछन । भदौ १५ गते नरपानीका स्थानीयले पोथी चितुवा नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएका थिए । वर्षामा बारीमा मकै, खरबारी र वनमा घाँसले ढपक्कै ढाक्ने भएकाले चितुवालाई लुकेर आक्रमण गर्न सजिलो हुने सहायक वन अधिकृत मोतीराम पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०७५ शुक्रबार ००:००  २ : १२ बजे