८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

वढिगाढ खोलाको पानी बिस्तारै बग्न शुरु, मध्यपहाडी लोकमार्ग भने अवरुद्ध



शिवलाल सुवेदी, गुल्मी ।
गए रातिदेखि थुनिएको वढिगाढ खोलाको पानी बिस्तारै वग्न शुरु भएको छ । पानी वग्नथालेपछि स्थानियमा बढेको त्रास अहिले हटेको छ । पहिरोका कारण थुनिएको तालबाट बिस्तारै पानीको बहाब कम हुँदै गएको र थुनिएको तालबाट दुई फिटभन्दा बढी पानी घटेकोल स्थानीयवासीले बताएका छन् । अत्यन्तै जोखिम अवस्थामा रहेको त्यो तालबाट पानी बग्न थालेपछि शनिबार बिहानै बाग्लुङ्ग सदरमुकामबाट घटना स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुसहितको टोली सदरमुकाम फर्किएको छ ।
टोली पहिरोग्रस्त क्षेत्र र बढीघाट खोलामा थुनिएको तालको अवलोकन गरी जोखिम कम भएपछि सदरमुकाम फर्किएको हो । पहिरोका कारण ढोरपाटन नगरपालिका २ अन्र्तगत सिमलचौरका चार घरपरिवार विस्थापित बनेका छन् ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध
बढीघाट खोला माथिबाट खसेको ठूलो चट्टानसहितको पहिरोले रातिदेखि नै मध्य पहाडी लोकमार्ग अन्र्तगत भीमगिठे–बुर्तिवाङ्ग सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकको एक किलोमिटरभन्दा बढी लामो भागमा ठूलाठूला चट्टानसहित पहिरो थुप्रिएका कारण सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक सञ्चालन गर्नका लागि दुई साताभन्दा बढी समय लाग्ने वाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनु भएको छ । पहिलो काम पीडितहरुलाई राहत उपलब्ध गराउने, दोश्रो पैदल बाटो खुलाउने र तेश्रो छिटो छरितो रुपमा दुई तिरैबाट विभिन्न उपकरण र साधनको प्रयोग गरी पहिरो पन्छाउने काम गर्ने प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध बनेपछि बाग्लुङ्गको बुर्तिवाङ्गबाट सदरमुकाम र अन्य क्षेत्रमा आवतजावत गर्ने हजारौं मानिसहरु थप समस्यामा परेका छन् ।
ठूलो मानवीय क्षति हुनबाट जोगियो
बाग्लुङ्गको ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा गएराति ठूलो पहिरो गएर बढीघाट खोला थुनेर बस्ती डुबाए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
रातको समयमा बढीघाट खोलालाई थुन्ने गरी पहिरो गएको खबर सुनेपछि रातभर बाग्लुङ्ग र गुल्मीको खोला क्षेत्रका बासिन्दाहरु जाग्राम बसेका थिए । उक्त घटनाबाट ठूलो मानवीय क्षति हुने आशंका गरिएको थियो ।
खोला छेउछाउका बासिन्दाहरु घरबाट आफ्ना महत्वपूर्ण सामानहरु निकालेर सुरक्षित स्थानतर्फ लागि सकेका थिए । नागरिकहरु थुनिएको खोला कतिबेला फुट्छ भन्ने त्रासमा रातभर खोलातिर हेरेर बसेका थिए । तर विस्तारै थुनिएको पानी खोलिँदै गएपछि त्रसित स्थानीय बासिन्दा केही ढुक्क भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  ११ : ३५ बजे