१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्युठानका बाघमुखे चुलेसी लोप हुँदै



प्यूठान ।
प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको यसको संरक्षण गर्न नसक्दा यो हराउने अवस्थामा पुगेको हो ।
मल्लरानी– ४ बुडाचौर निवासी ८४ वर्षीय केदार सिं विश्वकर्मा बाघमुखे चुलेसी बनाउने प्रमुख व्यक्ति हुनुहुन्छ । उहाँ चार महिनादेखि लगातार बिरामी भएपछि निर्माण कार्य पूर्णरुपमा बन्द भएको छ । समयमै उहाँको सीप अन्य व्यक्तिलाई नसिकाउने हो भने उहाँसँगै जिल्लाको पहिचान गुम्ने खतरामा छ ।
एउटा चुलेसी बनाउन करीब ६ सय लाग्छ । त्यसरी बनाएको चुलेसी करीब एक हजार ६०० मा विक्री गर्न सकिने स्थानीय केदार सिं विश्वकर्माको भनाई छ ।
पित्तल पगाल्न चाहिने काठका ठुटा सामुदायिक वनमा पाउन मुस्किल हुने र बलको काम बढी हुने भएकाले परम्परागत काम गर्ने जाँगर युवामा नभएको उहाँको गुनासो छ । प्यूठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपानेले चुलेसीले जिल्लाको ऐतिहासिकताका साथै पर्यटकीय महत्व बढाएपनि नयाँ पिंढीले परम्परागत पेशालाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिन नसको गुनासो गर्नुहुन्छ ।
उहाँले स्थानीय सरोकारवालासँग सहकार्य गरी यसको प्रवद्र्धनमा जोड दिइने बताउनुभयो । चुलेसी मात्र होइन यससँगै परम्परागत महत्व बोकेका सामग्री लोप भएका छन् । (रासस)

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  २ : २२ बजे