१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ऐया ! ढाड सेकियो फेरि, पेट्रोल लिटरको ११४, डिजल र मट्टीतेलको १०१ रुपैयाँ



काठमाण्डौं । 

नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । गएराती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको छ । निगमले यो मूल्य अन्तर्रा्ष्ट्रिय भाउ अनुसार स्वचालित मूल्य अनुसार समायोजन भएको जनाएको छ ।

हवाई इन्धन र एल पी ग्यासको मूल्य भने यथावत छ ।  मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जनाएको छ ।   यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३०९ रुपैयाँ ७९ घाटा रहेको छ ।  समग्रमा निगमलाई १५ दिनमा झण्डै ३१ करोड ६७ लाख घाटा हुने देखिन्छ ।

पछिल्लो १५र२० दिनमा अन्तर्रा्ष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकोले भाउ बढेको निगमको दावी छ । इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको पनि आयल निगमको दावी छ  ।

यो समायोजन पछि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सीमा मूल्यमा पेट्रोलमा २९ रुपैयाँ ४४ प्रति लिटर र डिजेल  २८ रुपैयाँ ४४ प्रति लिटरले नेपाल तर्फ नै सस्तो रहेको छ  । यसअघि गएको भदौ  २० गते पेट्रोलमा १ रुपैयाँ , डिजल र मट्टीतेलमा ३ रुपैया र एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  ३ : ०३ बजे