१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लागुऔषध सहित तीन जना पक्राउ



नवलपरासी ।
प्रतिबन्धित लागुऔषध सहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी सनइबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–६ पडरीबाट लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १६ का २२ वर्षीय अभिनाश भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँका १८ वर्षीय जमाल देवान र २६ वर्षीय सहरत अली रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट फेनेरागन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल, टेलजेसिक ४७ एम्पुल बरामद गरिएको छ । पक्राउ परेकालाई लागुऔषध कारोबार अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
यता हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वी नवलपरासीबाट आज पाँच जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–१ का २२ वर्षीय सुरज काउचा मगर, ३४ वर्षीय सन्तोषबहादुर थापा, १९ वर्षीय सागर थापा, १९ वर्षीय मनोज जंग कट्टेल र २२ वर्षीय दीपेन रोक्का रहेका छन ।
विनयी त्रिवेणी गाउँपालिका–१ स्थित बाग्लुङ कालिका क्रसर उद्योग भित्र आपसी विवाद हुँदा आज विनयी त्रिवेणी गाउँपालिका–२ का अन्दाजी २५ वर्षीय रुपेश महतोको मृत्यु भएको थियो ।
सुरज काउचा मगर र मृतक महतोबीच भएको विवादका कारण महतोको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि यसबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ४४ बजे