१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देहीमा यातायात खुल्यो, कपिलवस्तु लगायतका जिल्लामा भने अन्यौलता कायमै



मायादेवी अनलाइन, कपिलवस्तु ।

तीन दिनदेखि ठप्प भएको रुपन्देहीको यातायात विहीबार साँझ देखि सञ्चालनमा आएको छ ।
विहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरुका विचमा भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरि गाडी सञ्चालन गर्ने सहमती भएको हो । सहमतीपछि सवारी साधन चलेको बताइएको छ ।

चालकहरुले सरकारले कानुनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको विरोधमा गाडी थन्क्याएर आन्दोलन गरेका थिए । गाडी नचल्दा यात्रुलाई मर्का परेकाले विहीबारदेखि गाडी सञ्चालन गर्ने सहमती भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताउनुभयो ।

सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने तथा गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतीपत्र १५ दिनसम्म निलम्बन गर्ने सहमती भएको छ ।

यातायात मजदुर तथा व्यवसायी भलाई कोष, अखिल नेपाल यातायात मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात व्यवसायी समिति, बुटवल यातायात व्यवसायी समिति लगायतका संस्थाका प्रतिनिधिहरुले सहमतीपत्रमा हस्ताक्षर गरेका छन ।

यता रुपन्देहीमा सवारीसाधन सञ्चालनमा आए पनि अरु जिल्लामा के हुने अन्यौलता बढेको छ । गाडी चालकहरुको देशभरी कुनै आधिकारिक संगठन नभएको कारण अरु जिल्लामा के हुने हो अन्यौलता थपिएको छ । यो समाचार तयार पार्दा सम्म रुपन्देही बाहेक कपिलवस्तु लगायतका जिल्लामा गाडी सञ्चालन हुने हो कि होइन भन्ने अन्यौलता थपिएको छ ।
लगातारको बन्दले कपिलवस्तुको जनजीवन पनि नराम्रेरी प्रभावित भएको छ । सवारीसाधन चल्न नसक्दा यात्रुहरुलाई समस्या भएको हो । विहीबार यातायात सञ्चालन गरेर राम्रो काम गरेको भन्दै जिल्लाको बनगाईमा चालकलाई भव्य स्वागत गरिएको थियो । बनगाईका किरण खड्काका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने चालकलाई स्थानीयबासीले फूलमाला लगाई दिएका थिए ।

यस्तै शुक्रबार देखि विद्यालयका बस चालकहरुले पनि सवारीसाधन नचलाउने भएका छन । विहीबार वाणगंगामा बसेको सवारी चालकको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । सार्वजनिक यातायातका चालकहरुको आन्दोलनका कारण सार्वजनिक यातायात तीन दिनदेखि ठप्प छन् । सार्वजनिक यातायात सञ्चालन नगरेर घरमै थन्काउँदा सार्वसाधारण मर्कामा परेका छन । सयौंको संख्यामा यात्रुहरु गन्तब्यमा पुग्न नसकेर बाटोमै अलत्र परिरहेका छन् ।

सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै असोज १ गतेदेखि चालकहरु आन्दोलित भएका हुन् । सरकारले ल्याएको नयाँ मुलीकी संहिता ऐन चालकमैत्री नभएको भन्दै चालकहरु संसोधनको माग गरी आन्दोलनमा उत्रिएको बताइएको छ ।

संहितामा चालकलाई अपराधीसरह व्यवहार गरिएको भन्दै आफूहरुले ऐन संशोधनको माग गरेको संघर्ष समितिका सह संयोजक अर्जुन अधिकारीले बताउनुभयो । सरकारले ल्याएको सवारी ऐन चालकहरुको हितमा नभएकोले त्यसलाई तत्काल सच्चाउन माग राख्दै स्वतन्त्र रुपमा चालकहरुले यातायातका साधन सञ्चालन नगरेको अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १ : ०८ बजे