२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सासुको हत्या आरोप लागेका आरोपीहरूलाई अदालत बुझाइयो



दाङ ।
बोक्सीको आरोपमा सासुको हत्या गरेको आरोप लागेकाहरूलाई जिल्ला अदालत सल्यान बुझाइएको छ । हत्या गरेको आरोपमा दाङको दंगीशरण गाउँपालिका- ३ हेकुली निवासी ४४ वर्षीया टंकी रावत र घटनामा संलग्न भएको आरोपमा तुलसीपुर ९ बेलुवा निवासी ४० वर्षीय पवित्रा गिरीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले सरकारी वकिल कार्यालयमार्फत अदालत बुझाएको हो ।
टंकी रावत (साइली बुहारी)ले आफ्नी सासुआमा तुलसीपुर उपमहागनरपालिका-९ बेलुवा निवासी ७० वर्षकी सासु खोपी रावतको हत्या गरेको आरोप लागेको छ । उनले सासूलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र ४ गते झाक्रीसामु झारफुक गराउँदा झाक्रीले आफ्नै घरको बोक्सी लागेको बताएपछि उनीहरुले हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।
भदौ ५ गते घर फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको भकम जंगलमा हत्या गरी फाले पनि उनको शव स्थानीयले १५ गते फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटना पछि आरोपी टंकी रावतलाई प्रहरीले १६ गते कपिलवस्तुबाट पक्राउ गरेको हो।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  १० : ०३ बजे