१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पुल निर्माणमा बेथिति, रुपन्देहीमा ३१ वटा पुल बन्दा बन्दै रोकिए



भगवती पाण्डे, बुटबल ।

तिनाउ नदीले विभाजन गरेको रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने गरी आठ वर्षअघि पक्की पुल निर्माण सुरु गरिएको थियो । उक्त पुल दुई वर्षमा सक्ने गरी एलिट कन्स्ट्रक्सन प्रालिसँग २०६७ असार २५ गते ठेक्का सम्झौता भएको थियो । यो पुल निर्माण आज सम्म पनि सकिएको छैन । दुईवटा पिलर बनाएर तेस्रोको निम्ति जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण रोकिएको डिभिजन सडक कार्यालय बुटवलको दाबी छ ।

यो पुलको निर्माण लागत १० करोड ३८ लाख रुपैयाँ थियो । यसमध्ये कम्पनीले ५ करोड २८ लाख ७७ हजार भुक्तानी लगिसकेको छ । सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर रामपुकार जयसवाल ४२ प्रतिशत निर्माण पूरा भएपछि पिलरको जगमै समस्या देखिएर काम रोकिएको बताउनुभहुन्छ ।

निर्माण कम्पनीलाई तेस्रोपटक थपिएको म्याद २०७२ असार २४ गते सकिएको थियो। अहिले पुलका लागि बनाइएका तीनवटा पिलर तिनाउ बगरमा ठिङ्ग उभिएका छन ्। पुल निर्माणको काम बीचमै अलपत्र परेको यो मात्र उदाहरण  होइन।

२०३८ सालमा तिनाउ नदीमा आएको बाढीले बुटवलको नयाँबजार र पुरानो बजार जोड्ने पुल्चोकको पक्की पुल बगाएको थियो । पुल बगेपछि विच्छेद भएको वारिपारिलाई झोलुङ्गे पुल निर्माण गरी जोडिए पनि सवारी आवतजावत हुन सकेन ।

त्यहाँको निर्माणाधीन पुल पनि आधीमै रोकिएको छ । पुरानो बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको यो पुल डिजाइनमै समस्या देखिएको भन्दै रोकिएको हो।

चार वर्षअघि निर्माण सकिनुपर्ने उक्त पुलको ६८ प्रतिशत काम पूरा भएपछि बल्ल डिभिजन सडक कार्यालयले डिजाइनमा कमजोरी देखाएको हो ।

कार्यालयका इञ्जिनियर मेघबहादुर केसीले पुलको पश्चिमतर्फको पिलरको जग झोलुंगे पुलको जग र पर्खालसँग जोडिएकाले डिजाइन परिवर्तन गरिएको जानकारी दिनुभयो ।

रुपन्देहीका तिनाउ, दानव, कञ्चन, रोहिणी, कजरार, सियारी, भलुही, घाघरा, घोडाहा लगायत खोलामा ३१ वटा पुल निर्माणाधीन छन ्। अधिकांश पुल ठेकेदार कम्पनीको ढिलासुस्ती, डिजाइनमा कमजोरी र बजेट अभावले वर्षौंदेखि अलपत्र छन ्। पर्याप्त बजेट नहुँदा निर्माणमा प्रगति हुन नसकेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ३ : ३० बजे