१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तिनाउ खोलाको अम्लिहानमा पुल शिलान्यास



पाल्पा ।

तानसेन नगरपालिका–९ स्थित तिनाउ खोलाको अम्लिहानमा पुलको शिलान्यास गरिएको छ । उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेय र प्रदेश नं ५ का पूर्वाधार तथा भौतिक विकासमन्त्री बैजनाथ चौधरीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको उक्त पुलको निर्माण कार्य २०७६ असार २३ गते पूरा गर्ने गरी रसुवा कन्स्ट्रकशनसँग रु छ करोड ४३ लाखमा सम्झौता भएको छ ।

सो अवसरमा संयोजक पाण्डेयले तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको काम अघि नबढाउँदा विनियोजित बजेट खर्च हुन नसकेको बताउँदै अब निर्धा्रित समयमै कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशका पूर्वाधार तथा भौतिक विकासमन्त्री बैजनाथ चौधरीले पुल निर्माणका क्रममा स्थानीय बासिन्दाले कुनै पनि अवरोध गर्न नहुने बताउनुभयो । उहाँले जिल्लामा पूर्वाधार विकास कार्यालय, खानेपानी, सिँचाइजस्ता कार्यालय साउन महिनादेखि नै सञ्चालनमा ल्याउने लक्ष्य रहे पनि सङ्घीय सरकारले कर्मचारी नपठाउँदा काम हुन नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद नारायण आचार्यले पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीय बासिन्दालाई ठूलो राहत हुने बताउनुभयो । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले जनताले सिंहदरवारको अधिकार घरघरमा आएको भनिएपनि जनतालाई त्यस्तो अनुभूति दिन सकिएको छैन भन्नुभयो । (रासस)

प्रकाशित मिति : ८ आश्विन २०७५ सोमबार ००:००  ४ : ०३ बजे