१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विप्लवको रोल्पा बन्दले जनजीवन प्रभावित



खेमबहादुर बुढा, रोल्पा ।
नेत्रविक्रम चन्द “विप्लव“ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पा बन्द गराएको छ । नेकपाको बन्द आव्हानका कारण बुधबार बिहानैदेखि यहाँका बजार खुलेका छैनन् । यातायातका साधन पनि चलेका छैनन् । उच्च माध्यमिक विद्यालय र क्याम्पसको बिहानी कक्षा अबरुद्ध भएका छन् ।
नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी “प्रयास“ लाई प्रहरीले गरेको गिरफ्तारीको विरुद्ध जिल्ला बन्द आव्हान गरेको हो । आफ्ना नेता र कार्यकर्ताको निशर्त रिहाई हुनुपर्ने भन्दै नेकपाको जिल्ला पार्टीले गिरफ्तारीको कडा शब्दमा विरोध गरेको छ । कार्यवाहक सेक्रेटरी विश्वको हस्ताक्षरमा जारी विज्ञाप्तिमा शान्तिपुर्ण रुपमा साँस्कृतिक कार्यक्रममा सहभागी भैरहेको वेला सेक्रेटरी सुवेदीलाई गुण्डा शैलीमा गिरफ्तार गरेको उल्लेख छ । सुवेदीलाई एक हप्ताअघि रोल्पा नगरपालिका-१० धबाङको भनभनेबाट प्रहरीले नियन्त्रणमा ल्याएको थियो । शान्ति सुरक्षा खलल पारेको आरोपमा उनलाई सार्वजनिक मुद्दामा अनुसन्धान भैरहेको छ ।
सुवेदी पक्राउ पर्नु अघि नेकपाका सचिवालय सदस्य दिनेश वली पनि पक्राउ परेका थिए । वली केही दिनअघि रिहा भैसकेको प्रहरीले जनाएको छ । केही दिन अघि मात्र नेकपाकै अर्का नेता सुर्य खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । आफ्ना कार्यकर्ताको सृंखलावद्ध गिरफ्तारीले नेकपाका नेता आक्रोशित बनेका छन् ।
नेकपाले रोल्पालाई मात्र बन्द गराएर आक्रोशको सन्देश दिन चाहेको छ । बन्दले भने जनजीवन प्रभावित भएको छ । करिव ९० हजार विद्यार्थीको पढाइ अवरुद्ध भएको छ । लामो र छोटो दुरीका यातायातका साधन नचल्दा यात्रु अलपत्र परेका छन । जिल्ला भित्रने सवारी साधन भिंग्रीमा रोकिएका छन । दक्षिणी रोल्पा भित्रने सवारी साधन दाङ घोराही र होलेरीको सिमानामा अलपत्र परेको यातायात व्यवसायीले जनाएका छन् । सदरमुकाम लिबाङ पुरै सुनसान छ । बालबालिका सडकमा क्रीकेट खेलिरहेका छन् । पुर्वी सुलिचौर बजार, दक्षिण होलेरी र पश्चिमी घर्तिगाउँ, बागमारा लगायतका बजार बन्द छन् ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  ४ : १२ बजे