५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दाङको जखेरा तालमा पर्यटकको घुइँचो



लमही ।
लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक हजारदेखि २५ सयसम्म पर्यटक आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले जानकारी दिनुभयो ।
तालको प्रचार व्यापक भएकाले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । पहाडै पहाडको बीचमा बनेको तालको दृश्य हेर्न दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट अवलोकन गर्न यहाँ मानिसहरु आउने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
लमही नगरपालिका–३ को उक्त ताल दाङकै एक प्रसिद्ध पर्यटकीयस्थल हो । सात बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षत्रमा गणेश, त्रिसिद्धेश्वरी महादेव, कालिका र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ ।
तलाउमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा र चराचुरुङ्गीको आवाजले गर्दा यहा पुग्ने पर्यटकलाई थप लोभ्याउने गरेको छ । वन भोजका लागि उपयुक्त यहाँको तालमा माछापालन शुरु गरिएको छ । माछापालन आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो । (रासस)

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  २ : १८ बजे