८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रदेश राजधानी र नाममा असन्तृष्टि बढ्यो, धनगढी बन्द



धनगढी ।
प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध आजबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ ।
बिभिन्न स्थानबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको छ । दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु बिहानको सममा चलेका छैनन । साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिइने बन्दकर्ताको भनाइ छ ।
मोटरसाइकल चलाउन भने छुट दिइएको छ तर रिक्सा, अटो रिक्साहरु खासै चलेका छैनन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । उनीहरुको आग्रहपछि रिक्सा, अटो रिक्सा चालकहरु ग्यारेजमै फर्किएका छन ।
उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन । धनगढी बजार भने बन्द छ ।
बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ-ठाउँमा परिचालन गरिएको छ ।
प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो । आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  ४ : २९ बजे