१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मी प्रहरीको सुरक्षा योजना लागु



शिवलाल सुवेदी, गुल्मी ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले दशैँ, तिहार र छठ लगायत नजिकिएका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना तयार गरेर लागू गरेको हो ।
चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर गुल्मी प्रहरीले सुरक्षा योजना सार्वजनिक र लागु गरेको हो । प्रहरीले यसअन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने प्रहरीको योजना रहेको छ । वडादशैँमा सडकमा यात्रुको अत्याधिक चाप हुने भएकाले चालकले लामो समयसम्म सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्नेजस्ता कारणले दुर्घटनाको सम्भावना बढी हुने गरेको छ ।
यात्रुको चापको बाहना बनाएर सवारीहरुले बढी भाडा असुल्ने समस्या आउन नदिन प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार वस्नेतले जानकारी दिए । पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन जिल्लाको रिडी बसपार्क, बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क गरि तीन स्थानमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षकोे स्थापना गरेका हुन ।
दसै तिहारका बेला सदरमुकाम हुँदै धेरै यात्रु चाडपर्व मनाउन आ–आफ्ना घर जाने र यो समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिककै सजिलोको लागि सहयाता कक्ष स्थापना गरिएको प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए । यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मुल्य तिनुपर्ने समेतका घटनालाई मध्येनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो हो उनले भने‘ सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने, सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात ब्यवसायी संघ, संस्थासंग समन्वय गर्ने काम प्रहरीले गर्छ ।’ गुल्मी प्रहरीले सहायता कक्षसगै जिल्लाको सदरमुकाम तम्घास आउने रिडी–तम्घास सडकखण्ड र सवारीको सबैभन्दा बढी चाप हुने रिडी–रुद्रवेणी, वामीटक्सार सडकखण्डका साथै अन्य ग्रामीण सडकमा पनि मातहतका प्रहरी एकाइबाट सादा पोसाकमा सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको छ ।
चाडपर्वका बेला हुनसक्ने आपराधिक कृयाकलाप नियन्त्रण, लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्न साथै सरल सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिव बहादुर खत्रीले बताए । बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्ने र यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माईकिङ गर्ने, आपराधिक गतिविधि नियन्त्रणका लागि योजना बनाउने, आपराधिक योजना भएका र भैरहेको ठाँउहरुको पहिचान गरि ती ठाँउहरुको निगरानी गर्ने, साथै सडकहरुमा पैदल गस्ती, मोबाइल गस्ती समेत गरिने खत्रीले बताए ।


नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् । यो अवधिमा दुर्घटना हुने भएका सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक डोर बहादुर थापाले बताए । सडक सुरक्षाका अतिरिक्त जिल्लाका शक्तिपीठमा लाग्ने मेला, तथा पूजापाठलाई व्यवस्थित र सुरक्षित राख्ने कार्ययोजना समेत बनाएको छ ।
जिल्लाका विभिन्न शक्तिपीठमा वडादशैँमा मेला लाग्ने गर्दछ । चाडपर्वको मौका छोपेर हुनसक्ने चोरी डकैती रोकथामका लागि प्रहरीले वित्तीय संस्था केन्द्रीत सुरक्षा योजना बनाएको छ । यस्तै पटका, जुवा–तास नियन्त्रण गर्नेजस्ता कार्य पनि प्रहरीको चाडपर्व केन्द्रीत सुरक्षा योजनामा परेका छन् । जिल्ला प्रहरीले चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत बनाइ राख्न सादा पोशाकमा प्रहरी परिचालन गर्ने र राति अबेरसम्म मेला लाग्न नदिने योजना बनाएको छ । बजार अनुगमनलाई प्रभावकारी बनाउन र सार्वजनिक सवारी साधनको अभाव हुन नदिन पहल गरिने प्रहरी उपरीक्षक वस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  २ : ३९ बजे